• १४ फागुन २०८१, बुधबार

कालीगण्डकीमा वास्तविक किसानको पहिचान गर्न गणक गाउँमा

blog

कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, फागुन १४ गते ।
कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका वास्तविक किसानको पहिचान गर्न वडा, वडामा गणकहरू खटाएको छ । पालिकाभित्र रहेका नागरिकहरू कति सङ्ख्यामा कृषि पेसामा आबद्ध छन् भन्ने वास्तविक तथ्याङ्क लिनका लागि प्रत्येक वडामा गणकहरू खटाइएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । गणकहरूलाई दुई दिन तालिम प्रदान गरेर काममा खटाइएको उहाँले बताउनुभयो ।

कृषि र पशुपालनसम्बन्धी २७ वटा सूचकहरूलाई अनलाइनमार्फत प्रवृष्टि गर्ने र सोही आधारमा कृषकको पहिचान हुने कृषि अधिकृत सुशिल पाण्डेले जानकारी दिनुभयो । वडा नम्बर एक र दुईमा  गत वर्षनै  ८६७ जनाको तथ्याङ्क लिइएको र बाँकी रहेका पाँच वटा वडामा अहिले कार्य सम्पन्न गर्ने गरी कार्य गरेको पाण्डेको भनाइ छ । उहाँले १४ जना गणकहरू कार्यक्षेत्रमा खटिएको जानकारी दिनुभयो ।

कृषकले कति क्षेत्रफलमा काम गरेको, कति कामदार, परिवार सङ्ख्या, पशु सङ्ख्या चरणक्षेत्रका साथै आम्दानीलगायत सबै अनलाइनमार्फत प्रवृष्टि गरिने पाण्डेले बताउनुभयो । सोही आधारमा कृषकहरू छनोट गर्न र वास्तविक किसानलाई अनुदानलगायतका कार्यमा छनोट गर्नमा सहज हुने विश्वास गाउँपालिकाले लिएको छ । पछिल्लो समयमा कृषि गर्ने भन्दा पनि टाठाबाठाहरूले अनुदान लिने र वास्तविक किसानहरू सधैँ मर्कामा पर्ने गरेकाले त्यसको अन्त्य गर्नमा पनि यस कार्यले सहयोग पुग्ने पालिकाले दाबी गरेको छ ।