• १४ फागुन २०८१, बुधबार

पाल्पाका १० वटै पालिकामा मगर एकता दिवसमा सार्वजनिक बिदा

blog

रामपुर नगरपालिकाको कार्यालय भवन ।

इमान सिं राना

रामपुर (पाल्पा), फागुन १४ गते । पाल्पाका १० वटै स्थानीय तहले राष्ट्रिय मगर एकता दिवसको बिहीबार सार्वजनिक बिदा दिएको छ । जिल्लामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि बिदा दिएको हो ।

मगर जातिको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर सबै पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ । 

रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका र रिब्दीकोट गाउँपालिकाले सोमबार, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र पूर्वखोला गाउँपालिकाले मङ्गलबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिएको जनाएको छ । तिनाउ गाउँपालिकाले गत फागुन ६ गते कार्यपालिका बैठकको निर्णयसँगै सूचना जारी गरी बिदा घोषणा गरेको थियो ।

पालिकाका कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहने जानकारी दिएको छ । निस्दी गाउँपालिकाले ७ वटै वडामा दिवस विशेष कार्यक्रम हुने भएकाले सहभागी भएर हर्ष उल्लासकासाथ मनाउन आग्रह गरेको छ । 

राष्ट्रिय जनगणना २०७८ का अनुसार जिल्लामा कुल २ लाख ४५ हजार २७ जनसङ्ख्या मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर जाति रहेका छन् ।