• १४ फागुन २०८१, बुधबार

हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)

blog

खोप्रालेकमा परेको हिमपातसँगै देखिएको सुन्दर दृश्य । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १४ गते ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेक हिजोआज भने मनमोहक देखिन थालेको छ । लामो समयको खडेरी र हिमपात नभएका कारण खोप्रालेक उजाड थियो भने हिजोआज हिमपात हुन थालेपछि यहाँ खोप्रालेकको दृश्य मनोमहक देखिन थालेको छ । वरपरका डाँडा र हिमालहरू हिमपातले सेताम्मे हुन थालेका छन् ।

दैनिक जसो हिमपात हुने गरेको छ खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाल भन्नुभयो, ‘‘हिमपात हुनथालेपछि हिमालहरू मनमोहक देखिन थालेका छन् । वरपरका डाँडापाखाहरूमा पनि हिउँ परेकाले वातावरण निकै मनमोहक बनेको छ । हिमपात भएसँगै स्वदेश तथा विदेशी पर्यटकहरू खोप्रोको भ्रमणमा आउन थालेका छन् ।’’


अघिल्लो वर्ष पुस/माघ महिनामा पर्ने हिउँ यसपाली भने फागुन लागेपछि मात्र पर्न थालेको उहाँले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्णलगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ । 

पर्यटकको सुविधा लागि स्थानीयहरूले पाउद्धार पर्यटन सहकारी संस्थामार्फत सामुदायिक होटल सञ्चालन गरेका छन् । यहाँ ६५ जना पर्यटक वास बस्न सक्ने होटलको क्षमता छ ।