सियोल, फागुन १४ गते । दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ ।
सियोलले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न गर्न अर्बौं डलर खर्च गरेको छ ।
कोरियाको प्रारम्भिक साङ्ख्यिकीय तथ्याङ्कअनुसार प्रति एक हजार व्यक्तिमा जन्मिने शिशुको सङ्ख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसङ्ख्याको प्रवृत्ति देखाएको थियो ।
प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ०.७५ पुगेको छ । यो सन् २०२३ को ०.७२ को तुलनामा ०.०३ ले बढी हो ।
“सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार ३०० जनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० (३.६ प्रतिशत) बढी हो,” प्रतिवेदनमा भनिएको छ ।
जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसाङ्ख्यिकीय परिवर्तनमा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताउनुभयो । पार्कले एक पत्रकार सम्मेलनमा भन्नुभयो, “पछिल्लो एक दशकमा कोरियामा ३० वर्षभन्दा माथिका मानिसहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
सियोलका अनुसार सन् २०२४ मा बच्चा जन्माउने औसत मातृ उमेर ३३.७ वर्ष रहेको छ ।
तर दक्षिण कोरियाको पाँच करोड १० लाख जनसङ्ख्या कायम राख्न आवश्यक पर्ने २.१ जना बालबालिकाभन्दा प्रजनन दर निकै कम छ ।
सियाटलस्थित युनिभर्सिटी अफ वासिङ्टनको ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन’का अनुसार हालको दर कायम रहेसन् २१०० सम्ममा जनसङ्ख्या करिब आधा भएर दुई करोड ६८ लाख पुग्नेछ ।
लगातार गिरावट
विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका धेरै कारणहरूमध्ये प्रमुख कारण मानिन्छन् । यसले राम्रो तलब आउने रोजगारीका अवसरहरू सुरक्षित गर्न गाह्रो बनाउँछ ।
कामकाजी आमाहरूले आफ्नो पेसालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्को प्रमुख कारक भएको उनीहरूको भनाइ छ ।
दक्षिण कोरियाली सरकारले जन्म दर वृद्धिका लागि नगद अनुदान, ‘बेबीसिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दछ । तर प्रजनन दरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ ।
मोनाकोपछि विश्वको दोस्रो सबैभन्दा धेरै वृद्ध जनसङ्ख्या दर भएको देशको अपेक्षाकृत कडा अध्यागमन नियमको अर्थ यो हो कि यसले बढ्दो श्रम अभावको सामना गरिरहेको छ। रासस/एएफपी