बैङ्कक, फागुन १४ गते । थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो ।
“दुर्घटनामा१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,” प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन् । थप अनुसन्धान भइरहेको छ ।” बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थाइल्याण्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।
पूरानो र असुरक्षित सवारी साधन र चालकको लापर्बाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ । गत अक्टोबरमा बैङ्ककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो । रासस/एएफपी