ज्ञानु पंगेनी
मध्यविन्दु, फागुन १४ गते । पछिल्लो पुस्तामा परम्परागत सीप हस्तान्तरण गर्न देवचुली नगरपालिकाले ढकिया बुन्ने तालिम सञ्चालन गरेको छ । देवचुली–१ र १७ मा होमस्टे सञ्चालन गरेका महिलालाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो । थारू, माझी, मुसहर, बोटे समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ढकियाको प्रयोग बढी हुने, विभिन्न सांस्कृतिक कार्यक्रम तथा भान्सामा समेत प्रयोग गरिने गरिन्छ ।
ढकिया बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता भएपछि पालिकाले ढकिया बुन्ने तालिम सञ्चालन गरेको नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । ‘यहाँ रहेको होमस्टेमा विभिन्न पर्वमा हुने कार्यक्रममा ढकियाको प्रयोग अनिवार्य गरिन्छ’ उहाँले भन्नुभयो, ‘हामीले यहाँको समुदायलाई तालिम दिएर सीप हस्तान्तरण गर्नुपर्छ भन्ने लाग्यो र तालिमको आयोजना गरेका हौं’ तिवारीले भन्नुभयो ।
यस तालिम पश्चात् परम्परागत सीपको संरक्षणसँगै आर्थिक उपार्जनमा समेत महिलालाई जोड्न सकिने तिवारीको भनाइ छ । यहाँ उत्पादन भएको ढकियालाई बिक्री वितरण गरिनुका साथै होमस्टेको कोसेली घरमा प्रदर्शनमा समेत राखिने तिवारीले जानकारी दिनुभयो ।
तालिममा देवचुलीको एक र १७ नम्बर वडाका थारू, माझी, मुसहर तथा बोटे समुदायका २० जना महिला सहभागी छन् । कावासोती १४ निवासी तुलसीमाया महतो र सिताकुमारी महतोले तालिम प्रदान गर्नुभयो । फागुन ४ गतेदेखि सुरु भएको तालिम १८ गतेसम्म सञ्चालन हुनेछ ।
सङ्घीय सरकारको सशर्त अनुदानमा प्राप्त तीन लाख रुपियाँ रकमबाट ढकिया बुन्ने, चुरापोते र माला बनाउने तालिम सञ्चालन गर्नेगरी पालिकाले समन्वयकारी भूमिका निर्वाह गरेको तिवारीले जानकारी दिनुभयो । तालिमपश्चात् व्यावसायिक रूपमा महिला आबद्ध हुन चाहेमा नगरपालिकाले त्यसमा सहयोग गर्ने योजना बनाएको तिवारीले बताउनुभयो ।
तालिममा सहभागी हुनुभएकी हरिमाया खोजुवारले ढकिया बुन्ने तालिम पाउँदा खुसी व्यक्त गर्नुभयो । ‘आफ्नै समुदायमा प्रयोग भइरहने भए पनि ढकिया बुन्न सिक्नुपर्छ भन्ने मनमा आउँदै आएन । तर होमस्टे भएपछि परम्परागत वस्तुहरू अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने भएकाले सिक्न पाए हुन्थ्यो, भन्ने लागेको थियो । अहिले त खुसी लागेको छ’ खोजुवारले भन्नुभयो ।