• १४ फागुन २०८१, बुधबार

विश्वसम्पदा सूचीमा नेपाल

blog

भाइबहिनीहरू, संयुक्त राष्ट्रसङ्घको एउटा कार्यालयका रूपमा शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) पनि हो । युनेस्कोले प्राकृतिक एवं सांस्कृतिक महत्व राख्ने सम्पदालाई आफ्नो सूचीमा सूचीबद्ध गर्दछ । विश्वभरि रहेका प्राकृतिक एवं सांस्कृतिक महत्व भएका सम्पदाको सूची अर्थात् लिस्ट तयार गर्छ । सूचीमा राख्नुलाई सूचीबद्ध गर्नु भनिन्छ । वन, भवन, सहर, ताल, मरुभूमि आदि प्राकृतिक तथा सांस्कृतिक सम्पत्तिलाई बहुमूल्य सम्पदाका रूपमा लिने गरिन्छ । फ्रान्सको पेरिसस्थित युनेस्कोको विश्व सम्पदा सचिवालयले विश्वसम्पदाको घोषणा गर्दछ । कुनै पनि सम्पदालाई विश्वसम्पदा सूचीमा समावेश गर्नका लागि मुख्य १० वटा आधार छन् । विश्व सम्पदा सूचीमा रहेका सम्पदाको संरक्षणमा युनेस्कोले सहयोग गर्दछ । त्यस्ता सूचीमा रहेका सम्पदालाई नष्ट वा विनाश गर्न पाइँदैन । विश्वसम्पदा सूचीमा समावेश सम्पदाका बारेमा चर्चा गर्नेछौँ–

सांस्कृतिक विश्वसम्पदा स्वयम्भूनाथ संरक्षित स्मारक क्षेत्र 

स्वयं अर्थात् आफैँ उत्पत्ति भएकोले ‘स्वयम्भू’ भनिएको हो । स्वयम्भूको उत्पत्ति काठमाडौँ उपत्यकाको उत्पत्तिसँगै भएको विश्वास गरिन्छ । स्वयम्भू चैत्यको स्थापना लिच्छविकालीन राजा वृषदेवले गराए । राजा प्रताप मल्लले प्रतापपुर र अनन्तपुर ग्रन्थकूट (शिखर) शैलीका मन्दिर स्थापना गराएका थिए् । स्वयम्भू डाँडामा सङ्ग्रहालय, बज्र, विहारसमेत छन् । २०३५ सालमा स्वयम्भूलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको थियो । 


बौद्धनाथ संरक्षित स्मारक क्षेत्र

बौद्धनाथ स्तूपलाई खास्ती चैत्य पनि भनिन्छ । भाषा वंशावली अनुसार यो स्तूपको निर्माण ईश्वीको पाँचौँ शताब्दीका राजा मानदेव प्रथमले गरेका थिए । यस स्तूपको गर्भगृहभित्र काश्यप बुद्धको अस्थिधातु राखिएको जनविश्वास छ । यस स्तूपको वरिपरि १०८ वटा अवलोकितेश्वरका मूर्ति राखिएका छन् । २०४१ सालमा बौद्धनाथ संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको थियो । यहाँ वरिपरि झन्डै ५० वटा विहारसमेत रहेका छन् ।  


पशुपति संरक्षित स्मारक क्षेत्र

पशुपतिनाथलाई संसारभरिका हिन्दुको महान् तीर्थस्थल मानिन्छ । शिवपुरीको बागद्वारबाट उत्पत्ति भएको बागमती नदी पशुपतिनाथ मन्दिरको अगाडिबाट बहन्छ । २०५५ सालमा संरक्षित स्मारक क्षेत्र घोषित पशुपति क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक दृष्टिले ज्यादै प्राचीन र महत्वपूर्ण स्थल मानिन्छ । पशुपतिनाथ मन्दिर, पञ्चदेवल मन्दिर, वत्सलेश्वरी मन्दिर, भुवनेश्वरी मन्दिर, जयवागेश्वरी मन्दिर, विश्वरूप मन्दिर, गुह्येश्वरी मन्दिर, वासुकी मन्दिर, उन्मत्त भैरवलगायतका ऐतिहासिक स्मारक यहाँका विशिष्ट धरोहर हुन् ।     


चाँगुनारायण संरक्षित स्मारक क्षेत्र

चाँगुनारायणलाई दोलागिरि पर्वत, चम्पकनारायण पनि भन्छन् । काठमाडौँ उपत्यकाका चार नारायणमध्ये चाँगुनारायण पनि एक हो । यसको स्थापना राजा हरिदत्त वर्माले गरेका थिए । राजा मानदेवले विसं ५२१ मा प्रस्तरको गरुड स्तम्भ खडा गरेका थिए । चाँगुनारायण मन्दिर नेपालकै ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, वास्तुकला एवं पुरातात्त्विक महत्वको विशिष्ट धरोहर मानिन्छ । किलेश्वर महादेव मन्दिर, छिन्नमस्ता देवीको मन्दिर यहाँका विशिष्ट वास्तुकलाका नमुना हुन् । चाँगुनारायणलाई २०४१ सालमा संरक्षित स्मारक क्षेत्र घोषण गरिएको हो । 


हनुमानढोका संरक्षित स्मारक क्षेत्र

हनुमानढोका क्षेत्र लिच्छविकालमा दक्षिण राजकुलका नामले चिनिन्थ्यो । मल्लकालमा हनुमानढोका राजदरबार गुन्पो दरबारका नामले चिनिन्थ्यो । प्रताप मल्लले हनुमानको मूर्ति स्थापना गरेपछि यो दरबार हनुमानढोका नामले प्रसिद्ध भयो । यस राजदरबारको निर्माण विभिन्न राजाबाट भएको हो । काष्ठमण्डप, तलेजु मन्दिर, कागेश्वर महादेव, महाविष्णु मन्दिर, जगन्नाथ मन्दिर, माजुदेग, दसावतार विष्णुको मन्दिर, आगमछेँ मन्दिर, कुमारी घर, नौतले दरबार, गद्दी बैठक यहाँका महत्वपूर्ण स्मारक हुन् । यो दरबार क्षेत्र २०४१ सालमा संरक्षित स्मारक क्षेत्र घोषणा भएको हो ।


पाटन संरक्षित स्मारक क्षेत्र

ललितपुर सहरलाई यल, ललितारण्य आदि नामले पनि चिनिन्छ । पाटन राजदरबार क्षेत्र पनि विश्वसम्पदा स्थलको एक अङ्ग हो । २०४१ सालमा पाटन संरक्षित स्मारक क्षेत्रका रूपमा घोषणा गरिएको यो क्षेत्र मल्लकालीन कला र वास्तुकलाका लागि उत्कृष्ट छ । पाटन दरबारको निर्माणमा राजा सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल, योगनरेन्द्र मल्ल आदिको योगदान रहेको छ । नासलचोक, मूलचोक, सुन्दरीचोक, भण्डारखाल आदि यहाँका मुख्य चोक हुन् ।    


भक्तपुर संरक्षित स्मारक क्षेत्र

भक्तपुरलाई ख्वपः, भादगाउँ, खोप्रिङ, भक्तपत्तन आदि विभिन्न नामले चिनिन्छ । विश्वसम्पदा सूचीमा समावेश भएको भक्तपुर राजदरबार क्षेत्र ९९ चोकको दरबारका रूपमा समेत चिनिन्छ । वेक्वचोक, मूलचोक, कुमारी चोक, भैरव चोक, मालती चोक, भण्डारखाल आदि यहाँका मुख्य चोक हुन् । भक्तपुरलाई उपत्यकाको सांस्कृतिक राजधानी पनि भन्छन् । पचपन्न झ्याले दरबार, तलेजु मन्दिर खण्ड र हालको राष्ट्रिय कला सङ्ग्रहालय गरी तीन भागमा विभाजित छ । २०४१ सालमा संरक्षित स्मारक क्षेत्र घोषणा भएको हो ।

     लुम्बिनी 

लुम्बिनी विश्वभरिका बौद्ध धर्मावलम्बीको आस्था र विश्वासको केन्द्र मानिन्छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको थियो । इसापूर्व तेस्रो शताब्दीमा भारतीय सम्राट् अशोकले यस क्षेत्रको भ्रमण गरेका थिए । उनले अशोक स्तम्भ खडा गराए र त्यसमा ब्राह्मी लिपि तथा पाली भाषामा अभिलेखसमेत लेखाएका थिए । उक्त अभिलेखमा शाक्य मुनि बुद्धको जन्म स्थल लुम्बिनीको उल्लेख गरिएको छ । सन् १९९७ मा युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको थियो ।

प्राकृतिक विश्वसम्पदा सगरमाथा राष्ट्रिय निकुञ्ज

सगरमाथा राष्ट्रिय निकुञ्जलाई युनेस्कोले २०३६ सालमा विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमालको नामबाट यो निकुञ्जको नामकरण गरिएको हो । 

चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्जलाई युनेस्कोले २०४१ सालमा विश्वसम्पदा सूचीमा सूचीकृत गरेको हो । यसको क्षेत्रफल ९५२.६३ वर्गकिलोमिटर छ । यो निकुञ्ज २०३० सालमा स्थापना भएको हो । बागमती प्रदेशको चितवन, मकवानपुर, पर्सा र नवलपरासीका भूभाग यो निकुञ्जले ओगटेको छ । 

  मुना  

Author

भीष्म बाँस्कोटा