• १४ फागुन २०८१, बुधबार

लागुऔषध नियन्त्रणमा सक्रियता

blog

जिल्ला प्रहरी कार्यालय सप्तरी । तस्बिर : विनय कर्ण

कल्याणपुर समाचारदाता

कल्याणपुर (सप्तरी), फागुन १४ गते । सप्तरी प्रहरीले गत २६ माघमा बोदेबरसाइन नगरपालिका–३ बाट स्कार्पियो गाडीसहित ७२६ किलो प्रतिबन्धित लागुऔषध गाँजा नियन्त्रणमा लिइयो भने चालक फरार छन् । गत पुस २७ मा जिल्लाको बलान बिहुल गाउँपालिका–१ स्थित बलानपट्टी कमलदाहाबाट परालले छोपिएर बेवारिसे अवस्थामा राखिएको ६७० किलो गाँजा नियन्त्रणमा लिइयो । त्यस कारोबारमा संलग्न व्यक्तिको अवस्था अहिले पनि अज्ञात छ । यसरी नै सप्तरी प्रहरीले गत ८ मङ्सिरमा जिल्लाको राजगढ गाउँपालिका–४, पत्थरगाडादेखि झुटकी जाने सडकखण्डबाट टिप्परमा बालुवा र गिट्टीले छोपेर राखिएको अवस्थामा १७ क्विन्टल १७ किलो गाँजा नियन्त्रणमा लियो । टिप्परचालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय यमजित राई पक्राउ पर्नुभयो र उहाँलाई मुद्दा चलाइएको छ ।

गत असोज २२ मा कञ्चनरूप नगरपालिका–७ बाट १२० किलो गाँजा र एउटा स्कोर्पियोसहित दुई जनालाई नियन्त्रणमा लिइयो ।  सिराहा भगवानपुर गाउँपालिका–४ का ३७ वर्षीय चन्देश्वर चौधरी र सोही ठाउँका वडा नं. २ बस्ने ६० वर्षीय रामदुलार यादव पक्राउ पर्नुभयो । गत असोज ३ मा जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सकरदही पुलमा प्रहरीले १५० किलो गाँजासहित उदयपुर जिल्ला बेलका नगरपालिका–३ का ३२ वर्षीय दिलबहादुर माझीलाई नियन्त्रणमा लियो । सोही ठाउँका वडा नं. ६ बस्ने १७ वर्षीय नाबालकसहित १९ वर्षीय सुजन राईसहित तीन जनालाई नियन्त्रणमा लिइयो । त्यसअघि गत साउन २९ मा पनि सोही नगरपालिका–१ स्थित कोशी नदीको किनारमा रहेको गोलघरबाट ११५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो । 

यी विवरणहरू प्रहरीले ठुलो परिमाणमा बरामद गरेको गाँजाको मात्रै हो । यस आर्थिक वर्षको पुस २२ सम्ममा प्रहरीले ३५ क्विन्टल २२ किलो गाँजा नियन्त्रणमा लिएर २० जनाउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चालु आवमा लागुऔषधको ओसारपसारमा संलग्न २३ जनालाई नियन्त्रणमा लिएर २० जनाउपर मुद्दा चलाइएको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

प्रहरीको सक्रियता

जिल्लामा प्रतिबन्धित लागुऔषधको कारोबारलाई नियन्त्रण गर्न सप्तरी प्रहरी सव्रिmयताका साथ लागेको छ । प्रहरीले प्राकृतिकदेखि कृत्रिम लागुऔषधसम्म बरामद गर्दै आएका हुन् तर मुख्य काराबारीको जरोसम्म पुग्न अझै बाँकी नै छ । प्रहरीले यस आवको पुस २२ सम्ममा प्रतिबन्धित लागुऔषध गाँजा ३५ क्विन्टल २२ किलो गाँजा, नाइट्राभेट ट्याबलेट ५०३ थान, ब्रुफिन एम्पुल ११८ थान, फेनारगन एम्पुल १६३ थान बरामद गरेको छ ।

यसै गरी प्रोमेथोजाइन इन्जेक्सन ५५ थान, नाइट्राजेपाम ६९ थान, स्पास्मो एम्पुल १२ थान, डाइजिपाम एम्पुल १७४ थान, ओसकल ट्याबलेट पाँच थान, डाइलेक्स डिसी एक थान र ब्राउन सुगर १.५ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ओसारपसारमा प्रयोग गरिएको सवारीसाधनमा टिप्पर एक थान, मोटरसाइकल दुई थान र स्कोपियो दुई थानसमेत नियन्त्रणमा लिइएको छ । सप्तरी प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न अधिकांश १९ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा बढी छन् ।

नियन्त्रणमा चुनौती

प्रहरीले ठुलो परिमाणको लागुऔषध जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिन सफल भए पनि मुख्य कारोबारी अहिलेसम्म पक्रउ नपर्नुले पनि चुनौती थपिएको छ । प्रहरीले लागुऔषधको कारोबारलाई नियन्त्रण गर्न जडसम्म पुग्नुपर्ने आवश्यक रहेको छ । प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले मुख्य कारोबारी कानुनको दायरामा नआएसम्म युवा पुस्ता लागुऔषधको कुलतमा फसिरहने बताउनुभयो । 

समाजका अगुवा र अभिभावकले चासो नदेखाएसम्म प्रहरी प्रशासनको मात्रै भूमिकाले लागुऔषधमुक्त समाजको कल्पना गर्न कठिन रहेको अधिकारकर्मी मनोहर पोखरेल बताउनुहुन्छ ।

पोखरेलले भन्नुभयो, “कारोबारीले विभिन्न प्रलोभन दिएर युवालाई प्रयोग गरी कारोबार गराउँछन्, यसको जडसम्म पुगेर मुख्य नाइके कानुनको दायरमा नआएसम्म युवा यसको सिकार बनिराख्छन् ।” कारोबारमा संलग्न मुख्य नाइके पक्राउ नपर्नु चुनौतीको विषय हो । यसमा प्रहरीले अझै सव्रिmयता देखाउनु पर्छ ।

साथी सङ्गतको प्रभाव, छिट्टै धनी बन्ने सपना र तनावका कारण पनि लागुऔषधको कारोबार बढ्दै गएको बताउनुहुन्छ सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडा । उहाँले खुला सीमानाकाका कारण औषधीजन्य लागुऔषधको ओसारपसार बढेको बताउनुभयो । आफूले औषधीजन्य लागुऔषध सम्बन्धमा मेडिकल व्यवसायीलाई बोलाएर चिकित्सकको पुर्जाबिना औषधी बिक्रि नगर्न छलफल चलाएको जानकारी दिनुभयो ।