• १४ फागुन २०८१, बुधबार

सङ्कट व्यवस्थापनमा सबै निकाय प्रतिबद्ध

blog

अन्तर्क्रिया कार्यक्रमका सहभागीहरू । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, फागुन १४ गते । लैङ्गिक हिंसा तथा एकद्वार सङ्कट व्यवस्थापन गर्न यहाँका स्थानीय सरकार, प्रशासन, सरकारी निकाय एवं गैरसरकारी सङ्घसंस्थाहरू प्रतिबद्ध भएका छन् । विभेदविरुद्ध सबैले आआफ्नो क्षेत्रमा काम गर्दै आइरहेको भए पनि न्यूनीकरण गर्न नसकिएकाले सबै सरकारी कार्यालय, निकायहरू र गैरसरकारी सङ्घसंस्थाहरू एकबद्ध भएर काम गर्ने निर्णय गरिएको छ । 

आइतबार जिल्ला सदरमुकाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले आयोजना गरेको लैङ्गिक हिंसा तथा एकद्वार सङ्कट व्यवस्थापनका क्षेत्रमा कार्यरत निकायबिचको अन्तर्क्रिया कार्यक्रममा सहभागी अमरगढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, गन्यापधुरा गाउँपालिका, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र, महिला मुक्ति समाज, सेफ हाउस र गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिले हिंसाविरुद्ध एकबद्ध भएर काम गर्ने निर्णय गरेका छन् ।  

रुडुक र अक्सफाम नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताको रूपान्तरणात्मक नेतृत्व’ परियोजना अन्तर्गत लैङ्गिक हिंसा न्यूनीकरणका क्षेत्रमा यस जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी निकायहरूले आगामी दिनमा समन्वयात्मक ढङ्गबाट कार्य गर्ने, प्रभावित व्यक्तिलाई प्रदान गरेर सेवा तथा परामर्शका सम्बन्धमा पनि सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको रुडुक डडेलधुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिनुभयो । 

कार्यक्रमका प्रमुख अथिति रहनुभएका अमरगढी नगरपालिकाका नगर उपप्रमुख पार्वती झुकालले महिलाहरूले गाउँघरमा काम गर्न छोडेको बताउनुभयो । गाउँघरमा बुढा बुवाआमा, सासूससुरा मात्रै छन् । उहाँले भन्नुभयो, “आजकालका छोरीबुहारी, छोराछोरी पढाउन भनेर बजारमुखी भए ।” आफूले गरिरहेका कामको बजारीकरणका लागि सामाजिक सञ्जालको बढीभन्दा बढी प्रयोग गर्नु राम्रो भए पनि कुनै कामै नगरी दिनरात सामाजिक सञ्जालमा अर्धनगन भई भिडियो पोस्ट गर्नु, सक्रिय रहनु नराम्रो भएको भन्दै उहाँले यसले गर्दा महिला हिंसा बढाएको बताउनुभयो । 

एकीकृत विकास समाज (आइडिइएस) का कार्यकारी निर्देशक पदमा गुरुङले समुदायमा मदिरा सेवन गरेर पुरुषहरूले महिलामाथि हिंसा गरेको प्रायः मुद्दा हुने भएकाले महिलालाई सिप सिकाइ व्यवसायमा जोडिरहेको बताउनुभयो ।