• १४ वैशाख २०८२, आइतबार

जेष्ठ नागरिकलाई घरमै नागरिकता

blog

खप्तडछान्ना–५ पिठेतोला निवासी ९६ वर्षीया तुलसीदेवी जोशीलाई नागरिकता दिँदै सहायक प्रजिअ सत्यकुमारी उपाध्यायको नेतृत्वको टोली । तस्बिर : गौरी कुमारी अधिकारी

शैलेन्द्र रोकाया

बझाङ, फागुन १३ गते । जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ पिठेतोला कि ९६ वर्षीया एक महिलाले घरमै नागरिकता पाउनुभएको छ । जिल्ला प्रशासन बझाङको टोलीले ९६ वर्षीया तुलसीदेवी जोशीलाई उहाँको घरमै गएर नागरिकता दिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले नागरिकताका लागि सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो । नागरिकता पाएपछि जोशीले खुसी हुँदै नागरिकता दिन गएको टोलीलाई धन्यवाद समेत दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकता लिनका लागि आवश्यक कागजात के चाहिन्छ भन्ने थाहा पनि थिएन । नागरिकता लिनुपर्छ भनी मनमा पनि कहिल्यै आएन। कसैले नागरिकता बनाउन सहयोग समेत गरी दिएन । आफूलाई केही जानकारी थिएन । अब त भत्ता खाने कागज पनि बनाई माग्नु पर्यो ।” 

 थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने बित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो । 

बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग बिहे भएको थियो । 

बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको थियो। सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पिठातोला छ ।