यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) फागुन १३ गते । बर्दिया अस्पतालमा होमो डाइलसिस सेवा सञ्चालनमा आएपछि मिर्गौलाका बिरामीहरूलाई उपचारका लागि सहज भएको छ । गत वैशाख ११ गते देखि सञ्चालनमा आएको सेवाले गर्दा बिरामीहरू नेपालगन्ज, कोहलपुर र काठमाडौँ गएर डाइलासिस गराउनु पर्ने बाध्यता हटेको छ ।
बर्दियाका मिर्गौला पीडित बिरामीहरू हप्ताको तिन पटक सम्म डाइलासिस गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । विशेष गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल बाँकेमा समेत पालो नपाउँदा काठमाडौँ र भारतको लखनउ सम्म पुगेर डाइलासिस गराउनु पर्ने बाध्यता थियो । तर बर्दिया अस्पतालमा डाइलासिस सेवा सञ्चालन भएपछि घरबाटै आएर अस्पतालमा डाइलसिस गराउन पाएका छन् ।
डाइलासिस मेसिन आए पनि जनशक्ति अभावमा लामो समय सम्म सञ्चालनमा नआएको सेवा जनशक्ति व्यवस्थापन पश्चात् बर्दिया अस्पतालमा सुरु भएको थियो । ६ ओटा डाइलासिस मेसिन मध्ये एक मेसिन इमरजेन्सीको लागि होल्डमा राखेर दैनिक ५ ओटा मेसिन सञ्चालन गरिएको छ । दुई सेसनमा सञ्चालन भएको सेवामा प्रति दिन १० जना बिरामीलाई सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
डाइलासिस सेवा सञ्चालनमा आएपछि हाल सम्म ३८ जना बिरामीलाई डाइलासिस सेवा दिई सकिएको छ । जसमध्ये हाल २७ जना बिरामीले नियमित डाइलासिस सेवा लिई रहेका छन् । हाल सम्म एक हजार ५७ सेसन डाइलासिस सेवा दिई सकिएको बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले बताउनु भयो । विपन्न नागरिक औषधि उपचार कोषमा दर्ता हुन भन्दा अगाडी बर्दिया अस्पतालले ८५ वटा सेसन निःशुल्क डाइलासिस सेवा दिएको थियो । ५८ जना बिरामीलाई अस्पतालले आकस्मिक डाइलासिस सेवा दिई सकेको छ ।
बर्दियामा डाइलासिस सेवा सञ्चालन भएपछि जिल्ला बाहिर कोठा भाडामा लिई बसेर डाइलासिस गर्नुपर्ने बाध्यता हटेको बाँस गढी नगरपालिका वडा नं ६ दमौली बस्ने महादेवले बताउनु भयो । उहाँले भन्नु भयो –‘अहिले घरबाटै आमालाई डाइलासिस गराउन बर्दिया अस्पतालमा ल्याउने गरेको छु ।काठमाडौँमा कोठा भाडामा बस्दा अत्यधिक आर्थिक भार परेको थियो । अहिले सहज भएको छ ।’ काठमाडाैँ बसेर लामो समय डाइलासिस गरेका अर्का बिरामी गेरुवा गाउँपालिका वडा नं २ का शेरबहादुर विश्वकर्मा पनि अहिले बर्दिया अस्पतालमा डाइलासिस गराउन आउने गर्नु हुन्छ ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हप्ताको दुई पटक डाइलासिस गराउन जाने पवित्रा देवी सुवेदी हाल घरबाटै डाइलासिका लागि आउने जाने गर्नु हुन्छ । कुनै समयमा डाइलासिसको पालो नपाएर काठमाडौँ देखि भारतको बहराइच सम्म डाइलासिस गराउन भौतारिनु भएको थियो । उहाँ भन्नु हुन्छ –‘अहिले त घर मै बसेर डाइलासिस गरेजस्तो लाग्छ ।’
अस्पताल प्रमुख डा पाण्डेले विपन्न नागरिक औषधी उपचार कोषबाट प्राप्त हुने रकम अत्यन्त न्यून भएको बताउनु हुन्छ । उहाँले प्रति सेसन प्राप्त हुने दुई हजार पाँच सय रकमले डाइलासिस सञ्चालन गर्न समस्या भएको बताउनु भयो । करिब १० बर्ष अगाडी तोकिएको रकम हाल सम्म समायोजन नगरिएको बताउँदै हरेक दुई वर्षमा रकम समायोजन गर्नुपर्ने बताउनु भयो । ‘डायलासिसका लागि आवश्यक सामानहरू महँगो भई सक्यो तर डाइलासिस गरेवापत कोषले दिने रकम न्यून रहेको छ । ’ उहाँले भन्नु भयो –‘सरकारी अस्पतालमा डाइलासिसका लागि प्रतिसेसन न्यूनतम ३५ सय रुपियाँ दिए राम्रो हुन्थ्यो ।’
बर्दिया अस्पतालमा मिर्गौला रोग विशेषज्ञ नहुँदा कहिले काहीँ समस्या आउने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो –‘मिर्गौला रोग विशेषज्ञ मात्र नभएर फिजिसियन समेत नहुँदा समस्या पर्ने गरेको छ । हाम्रो अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर नभएकोले कतिपय सेवा दिन कठिन भएको छ ।’