• १२ फागुन २०८१, सोमबार

बालबालिकालाई शैक्षिक सामग्री वितरण

blog

बाजुरा समाचारदाता

बाजुरा, फागुन १२ गते । बाजुराका दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । रितादेवी जन एकता फाउन्डेसनको समन्वयमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई  शैक्षिक सामग्री वितरण गरेको हो ।

बुढीगङ्गा नगरपालिका–४ का  राजेन्द्र आविका एक सय जना, वडा नम्बर ७ मा रहेको शारदा माविका असी, वडा नम्बर–२ मुसीका पैँतिस, वडा नम्बर ३ को पशुपति माविका ४५ जना दलित तथा विपन्न परिवारका बालबालिकालाई स्कुल ब्याग, न्यानो लुगा तथा स्टेसनरी सामग्री वितरण गरेको रितादेवी जनएकता फाउन्डेसनले जनाएको छ । 

सम्बन्धित विद्यालयमा वडाध्यक्ष वडासदस्य, व्यवस्थापन समिति शिक्षक र अभिभावकको उपस्थितिमा सो सामग्री वितरण गरिएको छ । दुर्गम र चिसोमा पढ्दै आएका यी विद्यार्थी भाइबहिनीलाई यो सानो सहयोगले पनि ठुलो राहत पुगेको रितादेवी जनएकता फाउन्डेसन अध्यक्ष रिता शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगत लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको यो फाउन्डेसनले विभिन्न विद्यालयमा अध्ययनरत गरिब, दलित तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गरेको हो ।”

बुढीगङ्गा नगरपालिका वडा नम्बर ४ र ७ मा जय नेपाल फाउन्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कका बुदीमाया शेर्पा र पशुपति उमाविमा काठमाडौँ बस्नुहुने समाजसेवी मिङमा दोर्जे शेर्पाको आर्थिक सहयोगमा सो सामग्री बालबालिकालाई वितरण गरेको अध्यक्ष शाहीले बताउनुभयो ।