शिक्षालाई परापूर्वकालदेखि नै व्यक्तित्व विकास तथा सुखी जीवनको प्रमुख साधनका रूपमा लिइएको छ । विधि, रीति तथा थिति व्यवस्थापन गरी व्यक्ति तथा समाजको परिवर्तन गर्ने र सामाजिक तथा आर्थिक विकासको ढोका खोल्ने काम शिक्षाले नै गर्छ । असल शिक्षाको माध्यमबाट दिगो तथा सन्तुलित र समतामूलक विकास सम्भव छ । शिक्षाले व्यक्तिलाई काम गर्न सक्षम बनाउनु पर्छ । आजको समयमा कोरा सैद्धान्तिक ज्ञान भएको शैक्षिक योग्यताले भन्दा प्राविधिक तथा व्यावसायिक शिक्षाले व्यक्तिलाई रोजगार भई आफ्नो सुनौलो र सुखी भविष्यको मार्ग तय गर्न मद्दत गर्छ । अबको शिक्षालाई ‘बोली खानेभन्दा गरी खाने शिक्षा’ बनाउनु पर्छ ।
युवालाई सिप सिकाएर उत्पादन तथा रोजगारीमा जोड्नु आजको आवश्यकता हो । वर्तमान समयका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता बढ्दै गएको छ । देशको आर्थिक विकास र समृद्धिका लागि दक्ष प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले विद्यालय तहमा व्यावसायिक ज्ञान र सिप सिकाउन विसं २००४ देखि नै नेपालको शिक्षा प्रणालीमा प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विषयवस्तु समावेश गरेको पाइन्छ । तत्पश्चात् विभिन्न निकाय र संस्थाहरूको स्थापना भई प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन गर्न थालियो । प्राविधिक तथा व्यावसायिक शिक्षामार्फत दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को २०४५ सालमा स्थापना भएको हो । देशको आर्थिक समृद्धि र विकासका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको अपरिहार्यतालाई सम्बोधन गर्न नै राज्यले अलग र स्वायत्त संस्थाको परिकल्पना गरेको थियो । राज्यले जुन ध्येयका साथमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनका लागि विभिन्न कानुनी तथा संरचनागत व्यवस्था गरी सिटिइभिटी तथा अन्य निकायको स्थापना गरेको थियो त्यस अनुसारका लक्ष्य प्राप्त गर्न सकेका छौँ त ?
प्राविधिक तथा व्यावसायिक शिक्षामार्फत युवालाई प्राविधिक सिप र ज्ञान सिकाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा जोड्न सकिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई स्वरोजगारको सिर्जना गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ । केही न केही सिप सिकेको युवाले आफैँ कुनै व्यवसाय सञ्चालन गर्न सक्षम हुन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई शिक्षाको महत्वपूर्ण क्षेत्रका रूपमा राज्यले लिएको छ । हरेक राजनीतिक दलका घोषणापत्रले समेत सिपयुक्त जनशक्ति र उत्पादनमा उच्च प्राथमिकता दिएका छन् । यसका साथै नेपालको संविधान, शिक्षा नीति, आवधिक योजना, वार्षिक कार्य योजनामा प्राविधिक शिक्षाको विकास, विस्तार, गुणस्तर र सान्दर्भिकतामा जोड दिइएको छ । १६ औँ आवधिक योजनाको अन्त्यसम्ममा प्राविधिक शिक्षा र साधारण शिक्षाको अनुपात ७०:३० पुर्याउने लक्ष्यसमेत लिइएको छ । यसबाट प्राविधिक शिक्षाको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित छ भन्ने पुष्टि हुन्छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा सबैको पहुँच स्थापित गर्न राज्यका सबै जिम्मेवार निकायले यसको विकास र विस्तारका लागि बलियो पहलकदमी लिइरहेका छन् । हालसम्म ६७५ पालिकामा प्राविधिक शिक्षाको संस्थागत पहुँच पुगिसकेको छ । भौगोलिक दूरताका कारण प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छैन । हाल सिटिइभिटीबाट सम्बन्धन तथा स्वीकृति लिएर सञ्चालनमा रहेका शिक्षण संस्थाले न्यून शुल्कमा प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गरिरहेका छन् । स्थानीय सरकारको साझेदारीमा सञ्चालित कतिपय शिक्षण संस्थामा पालिकाहरूले प्राविधिक शिक्षा अध्ययनका लागि ठुलो सङ्ख्यामा छात्रवृत्तिसमेत प्रदान गरिरहेका छन् । यसका साथै स्थानीय तहमा रहेका गैरसरकारी संस्था तथा समुदायले समेत प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको पाइन्छ । सिटिइभिटी अन्तर्गत सञ्चालित शिक्षण संस्थामा एसइईपश्चात् १८ महिना र तीन वर्ष अवधिका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । लामो अवधिका प्राविधिक शिक्षाका यस्ता कार्यक्रममा भर्ना क्षमता ७५ हजार सात सय २४ पुगेको छ । यसमा शिक्षण संस्थाले सञ्चालन गर्ने कार्यक्रममा तोकिएको भर्ना कोटामध्ये १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको छ । यस व्यवस्थाबाट वार्षिक करिब सात हजार विद्यार्थीले निःशुल्क प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर पाएका छन् । यसका साथै छोटा अवधिका सिपमूलक तालिम निःशुल्क रूपमा सञ्चालन हुँदै आएका छन् ।
प्राविधिक शिक्षामा पहुँच स्थापित गरेर मात्रै पनि यसको विकास र विस्तार सम्भव हुने देखिँदैन । अध्ययन पूरा गरिसकेपछि आशातीत उपलब्धि हासिल भयो वा भएन, उत्पादित जनशक्तिले बजारको मागलाई परिपूर्ति गर्न सक्यो वा सकेन भन्ने महत्वपूर्ण हुन्छ । प्राविधिक शिक्षाको गुणात्मक विकासका लागि मुख्यत शिक्षण संस्थाहरूलाई सम्बन्धन तथा स्वीकृति प्रदान गर्दा मापदण्डमा आधारित रहेर गर्नु पर्छ । प्रयोगात्मक अभ्यासका लागि पर्याप्त ल्याब, अध्यापन गराउने दक्ष प्राविधिक जनशक्ति र कार्यस्थलको सिकाइका लागि उद्योग व्यवसायसँगको सहकार्य हुने सुनिश्चितता स्थलगत रूपमै हेरिनु पर्छ । प्राविधिक तथा व्यावसायिक शिक्षा कक्षाकोठामा कम र कार्यस्थलको सिकाइका लागि ल्याब, वर्कसप तथा फिल्डमा अधिक समय अध्यापन गराउनुपर्ने विषय हो । कार्यस्थलको सिकाइको उपयुक्त प्रबन्ध गर्न सकिएन भने विद्यार्थीले अपेक्षित सिप सिक्न सक्दैन । सिपबिना प्राविधिक शिक्षाको कुनै मूल्य नै हुँदैन । फलतः प्राविधिक शिक्षाको गुणात्मकता र विश्वसनीयता माथि प्रश्न चिह्न लाग्न सक्छ । यसर्थ सिटिइभिटीले मापदण्ड निर्धारण गरी संस्था तथा कार्यक्रम सञ्चालनका लागि सम्बन्धन तथा स्वीकृति प्रदान गर्दै आएको छ । यसका साथै जनशक्ति तथा संस्थाको क्षमता विकासका लागि नियमित रूपमा प्रशिक्षक तथा कर्मचारीलाई क्षमता विकासका तालिम प्रदान गरिँदै आएको छ । शिक्षणमा नयाँ नयाँ प्रविधि आइरहेका हुन्छन् । प्रशिक्षक हरेक नयाँ विषयमा अद्यावधिक हुनु पर्छ । त्यसका लागि प्राविधिक प्रशिक्षण प्रतिष्ठानमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रमा संलग्न पेसाकर्मीको पेसागत दक्षता अभिवृद्धि गर्ने कामसमेत हुँदै आएको छ । यस्ता कार्यहरूबाट प्राविधिक तथा व्यावसायिक शिक्षामा लिइएको उद्देश्य हासिल गर्न सहज भइरहेको छ ।
शिक्षण संस्थामा के कसरी अध्यापन भइरहेको छ ? स्रोतसाधन र जनशक्तिको अवस्था के कस्तो छ भन्ने बारेमा नियमित अनुगमन तथा मूल्याङ्कन हुँदै आएको छ । हरेक शिक्षण संस्थामा वार्षिक रूपमा अनुगमन गरेर आवश्यक सुधारका लागि संस्थागत पहलसमेत गरिएको छ । शिक्षालयहरूले सुधार गर्नुपर्ने विषयमा सुझाव प्रदान गर्ने कार्य हुँदै आएको छ । यसले संस्थाको समग्र क्षमता विकासमा सहयोग पुर्याएको पाइन्छ । सिटिइभिटीले आफ्ना कार्यक्रमलाई क्यालेन्डर निर्माण गरेर कार्यान्वयन गर्दै आएको छ । खास गरेर परीक्षा समयमै गर्ने र समयमै नतिजा प्रकाशनका लागि सिटिइभिटीले पछिल्लो समय क्यालेन्डरको परिपालना गरिरहेको छ । यसका साथै विद्यार्थीलाई कार्यस्थलको सिकाइका लागि उद्योगसँग जोड्ने काममा समेत गर्दै आएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै आएको छ । विभिन्न अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षामा समावेशी एवं समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता लागि विभिन्न प्रयास हुँदै आएको भए पनि तथ्याङ्कले भने यो क्षेत्रमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या उत्साहजनक देखाउँदैन । एसइईपश्चात्को १८ महिने प्रि–डिप्लोमा तहका कार्यक्रममा प्रशिक्षार्थी भर्ना दर सन्तोषजनक छैन । प्रि–डिप्लोमा तहमा शैक्षिक सत्र २०७७।७८ मा भर्ना सङ्ख्या २४ हजार पाँच सय १९ रहेकोमा शैक्षिक सत्र २०८१।८२ मा सो तहमा भर्ना हुने विद्यार्थीको सङ्ख्या चार हजार आठ सय ९३ रहेको छ । त्यसै गरी एसइईपश्चात् तीन वर्षे डिप्लोमा तथा प्रमाणपत्र तहको विद्यार्थी भर्नाको अवस्थामा समेत सुधार भएको देखिँदैन । शैक्षिक सत्र २०७७।७८ मा २६ हजार १२४ विद्यार्थी भर्ना भएकोमा शैक्षिक सत्र २०८१।८२ मा २४ हजार ६७८ विद्यार्थी भर्ना भई अध्ययनरत रहेको देखिन्छ । उल्लिखित तथ्याङ्कले प्राविधिक शिक्षाको क्षेत्रमा गरिएको लगानी तथा प्रयासका बाबजुत पनि विद्यार्थी सङ्ख्यामा वृद्धि हुन नसकेको विषय दर्शाएको छ ।
प्राविधिक तथा व्यावसायिक शिक्षालाई गरिखाने शिक्षा भने पनि विद्यार्थीको रुचि नदेखिनु अहिले मूल विषय रहेको छ । यसका लागि विभिन्न अध्ययनसमेत भएका छन् । विद्यार्थी सङ्ख्यामा कमी आउनुका कारणलाई मसिनो ढङ्गले विश्लेषण गरी सो अनुसारका कार्यक्रम तय गरी कार्यान्वयन गर्दै जानुपर्ने हुन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको आकर्षण वृद्धि गर्न जनसङ्ख्या, भूगोल र आवश्यकता आधारमा प्राविधिक शिक्षालय स्थापना र कार्यक्रम विस्तार, शिक्षण संस्थामा न्यूनतम भौतिक तथा शैक्षिक पूर्वाधारको व्यवस्था, शिक्षण सिकाइ सामग्रीको पर्याप्तता, दक्ष प्रशिक्षकको उपलब्धता, कार्यस्थलको सिकाइको सुनिश्चितता, विद्यार्थी सहायता प्रणालीको कार्यान्वयन, पढ्दै कमाउँदै र कमाउँदै पढ्दै कार्यक्रमको कार्यान्वयन, सरोकारवालासँगको समन्वय र सहकार्य र शैक्षिक क्यालेन्डरको पूर्ण कार्यान्वयनको आवश्यकता पर्छ । विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापमा सहभागिता, शिक्षण सिकाइमा नवीनतम प्रविधिको प्रयोग, उद्यमशीलता विकास कार्यक्रम सञ्चालन, वित्तीय पहुँचका लागि सहजीकरण, छात्रवृत्तिलगायतका कार्यक्रममा लक्षित समुदाय (सीमान्तकृत वर्ग) को सहभागिता र उद्योग, व्यवसायसँगको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने विषयलाई समेत विशेष ध्यान दिनु पर्छ ।
आगामी दिनमा प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दा युवालाई उद्यमशील बनाउने गरी काम गर्नु पर्छ । श्रम बजारमा आवश्यक जनशक्तिको प्रक्षेपण गरी त्यसका आधारमा पाठ्यक्रम विकास तथा परिमार्जन, शिक्षण सिकाइमा प्रविधिको प्रयोग, कार्यस्थलमा आधारित प्रशिक्षण, उत्पादित वस्तु तथा सेवाको बजारीकरण, वित्तीय पहुँच र उत्पादित जनशक्तिलाई उत्पादन तथा रोजगारीमा संलग्नताका लागि सहजीकरणसम्मका काम गर्न आवश्यक छ । यसलाई दिगो बनाउन प्राविधिक तथा व्यावसायिक शिक्षालाई इको सिस्टमका रूपमा सञ्चालन गर्नु पर्छ । जसका लागि सरकार, तालिम प्रदायक शिक्षण संस्था, उद्योग/व्यवसाय र समुदायका बिचमा सौहार्दपूर्ण सम्बन्ध अपरिहार्य हुन्छ । यी सबै सरोकारवालासँगको अर्थपूर्ण सहभागितामा तयार गरिएको एकीकृत योजना र कार्यक्रम कार्यान्वयनबाट देशले अपेक्षा गरे अनुसारको दक्ष प्राविधिक जनशक्ति तयार भई उत्पादन तथा रोजगारीमा वृद्धि हुन्छ । तसर्थ यस्ता क्रियाकलापको कार्यान्वयनबाट प्राप्त हुने उपलब्धिका बारेमा आमविद्यार्थी तथा अभिभावकलाई सुसूचित गरी गुणस्तरीय प्रशिक्षण प्रदान गर्न सकेमा आगामी दिनमा प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्ने निश्चित देखिन्छ ।
(लेखक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक हुनुहुन्छ ।)