राज्यले शान्ति सुव्यवस्थाका लागि केही नियम कानुन बनाएको हुन्छ । प्रत्येक नागरिकले त्यो नियम पालन पनि गरिरहेको हुन्छ । केही व्यक्तिले यी नियम पालन नगरी उल्लङ्घन गरिरहेका हुन्छन् । कसैले पालन गर्नुपर्ने नियमलाई उल्लङ्घन गर्ने कार्य गर्छ भने त्यो राज्यविपरीत कार्य गरेकाले उक्त कार्यलाई अपराध मानिन्छ । कानुन उल्लङ्घन गर्नेले दण्ड भोग्नु पर्छ । यस्ता कानुन उल्लङ्घन गर्ने कार्य प्रौढ व्यक्तिले नगरी अप्रौढ वा बालकले पनि गर्न सक्छ । बालकले गर्ने अपराधलाई बाल अपराध मानिन्छ । बालक भन्नाले एउटा निश्चित आयुलाई लिइएको छ ।
एउटा महान् व्यक्ति बर्टका अनुसार सरकारी कारबाही गरिनुपर्ने राज्यविरोधी जस्ता कार्य गरिएमा बाल अपराध ठहरिन्छ । उनका अनुसार पाँच वर्षदेखि १८ वर्षसम्मका बालकको अपराधलाई बाल अपराधको श्रेणीमा गणना गरिएको छ । कुनै पनि देशका बालक जबसम्म नाबालकबाट साबालक हुँदैनन् । त्यस आयुसम्ममा गरिएको अपराध छानबिन गर्न बाल न्यायालयको व्यवस्था गरिएको हुन्छ । यसबाट सामान्यतया उनीहरूबाट फेरि त्यस्तो अपराध हुन नदिन नियन्त्रण र दबाब गराउन बाल अदालत रहेको हुन्छ । यो बाल अपराध सम्बन्धमा आआफ्नो मुलुक अनुसार फरक देखिन्छ ।
नेपालको कानुनले पनि बालकलाई अपराधको दायित्व बहन गराउन सजायको हद निर्धारण गरेको छ । बाल अपराध ऐन सम्बन्धमा विसं २०७५ को संशोधित कानुन अनुसार १० वर्षमुनिका बालकलाई सबै किसिमका अपराधसम्बन्धी दायित्वबाट मुक्त गरेको देखिन्छ । किनभने यस समय उक्त उमेरका बालकले आफूले गरको कार्य प्रकृति र परिणामबारे थाहा पाउँदैनन् । १० वर्षदखि १४ वर्षका बाल अपराधलाई दण्ड दिने वा काउन्सिलिङ गर्न वा एक वर्ष बाल सुधार गृहमा पठाउने र कसुर हेरी छ महिनासम्म कैद गर्ने व्यवस्था गरेको छ । १४ देखि १६ वर्षसम्मको बालकले अपराध गरेमा सो अपराधमा वयस्कलाई हुने आधा सजाय हुन्छ । यस्तै १६ देखि १८ वर्षसम्मका बालकले अपराध गरेमा वयस्कलाई हुने पूरा सजायको दुई तिहाइ प्रतिशत सजाय हुने छ ।
बाल अपराध अन्तर्गत चोरी, मारपिट, तोडफोड, अरूको धनजनको नाश गर्नु, जुवा खेल्नु, हत्या, आत्महत्या, करनी जस्ता कामकारबाही पर्छन् । अचेल मोबाइलको विकासले यसबाट हुने आपराधिक क्रियाकलाप पनि हुने गरेको छ । आजको भौतिकवादी विकासको परिणामले ससाना केटाकेटीमा चिन्ता, निराशा, मनमा ताप र पढाइका बोझको कारणले बाल अपराधको घटनाको सङ्ख्या बढ्दो छ । नेपालमा गाउँमा भन्दा सहरमा बाल अपराध बढेको देखिन्छ । अझ विकसित देशमा भने बाल अपराधको सङ्ख्या निकै बढेको छ । बालअपराध केबल विकासोन्मुख देशमा मात्र नभएर संसारका विकसित मुलुकमा तीव्रताका साथ बढिरहेको छ ।
बाल अपराध बढ्नुको पछाडि विभिन्न कारण छन् । जस्तो बाबु आमाको सोचाइ, आर्थिक स्थिति, शिक्षा तथा छरछिमेकीको कुसङ्गतको प्रभाव महत्वपूर्ण छ । उनीहरू आवेशी, अवज्ञाकारी, आक्रामक, उदण्ड स्वभावको हुन्छन् । बाल अपराधका कारक तत्वमा वंशानुक्रम, वातावरण र मनोवैज्ञानिक कारण मानिन्छन् ।
परिवारबाट बाल बालिकाको हेरचाह, लालनपालनले बालकको जन्मदेखि मृत्युसम्म विभिन्न प्रभाव पारेको हुन्छ । परिवारमै बालकले नैतिक एवं आधारभूत सामाजिक शिक्षा लिएको हुन्छ । परिवार एक सामाजिक संस्था हो भनी बुझ्नु पर्छ । बालकको भविष्य निर्माणमा परिवार नै केन्द्रित भएको हुन्छ । यसैले परिवार खराब छ भने बालकको भविष्यमा ठुलो असर पु्गेको हुन्छ । बालकको लालन पालनमा सही रूपले ध्यान पु¥याउन सकिएन भने विकृतिजन्य अवसर आएर बाल अपराधीका रूपमा फस्न सक्छ ।
बाल अपराधमा असर पर्ने कारक तत्व पतिपत्नीबिच झैझगडा, पारपाचुके र आमा बाबुमध्ये कुनै एकको मृत्यु वा आमाबाबुको दुवैको मृत्युले बालबालिका टुहुरा भई मनस्थिति बिग्रिन सकिन्छ । आमाबाबुको स्नेह र ममताबाट विचलित बालबालिका आफूलाई असुरक्षित थानी अपराध प्रवृत्तिमा लाग्ने गर्छन् । यस्तै आमाबाबुमध्ये कुनै एक अपराधी भएमा सो घरको बालकको मनोवृत्ति अपराध गर्नमा प्रेरित हुन्छ । रक्स्याहाको आमाबाबुका सन्तान रक्स्याहा हुनमा धेरै मद्दत मिल्ने छ ।
नेपाल जस्तो गरिब मुलुकमा गरिबीको कारणले पनि बाल अपराध बढेको छ । आमाबाबुले आफ्ना सन्तानलाई आवश्यकताको पूर्ति गर्न सक्दैनन्, अरूको देखासिखीमा चोरी गर्ने, लुट्ने, नशालु पदार्थ सेवन गर्ने, व्यभिचारी गर्ने जस्ता अपराध गर्छन् । आजकल सिनेमा, भिडियो र मोबाइल हेरी अपराध गर्नमा बालबालिका नक्कल गर्नेमा निकै अभिपे्ररित हुन्छन् ।
बाल अपराधसम्बन्धी समस्या पनि मूल कारण बनेको छ । विशेषतः काठमाडौँ उपत्यकामा अधिकांश सडक बालबालिका अपराधमा संलग्न हुने गरेका छन् । कतिपय सडकमा बस्नेहरूले पकेट मार्ने, पसलमा चोरी गर्ने, आपसमा झैझगडा गर्ने, लागुपदार्थ ओसार प्रसार गर्ने र वेश्यावृत्ति तथा समलिङ्गी यौनक्रियातर्फ पनि संलग्न हुने गरेका छन् । यस्ता क्रियाकलापमा बढी १० वर्षदेखि १५ वर्ष उमेर रहेको भनिएको छ । यस्ता बाल अपराधको वास्तविक कारणको खोजी गरी समाधान गर्ने तर्फ उन्मुख हुनु जरुरी छ । यसका लागि समाजका सम्पूर्ण वर्ग सचेत हुनु आवश्यक छ ।
सर्वप्रथम घरपरिवारले आफ्ना बालबालिकाले के गरिरहेका छन् भनेर जान्नु जरुरी छ । यसका लागि विद्यालय, छरछिमेकी, आफन्तको नजरमा आफ्ना बालबालिका कस्तो अवस्थामा छन् भन्ने ज्ञान हुनु पर्छ । बाल अपराध रोकथामका लागि परिवारको समुचित वातावरण, अनुशासन, स्वस्थ मनोञ्जन, पाठशालाको स्वस्थ वातावरण, आदिको ज्ञान हुनु पर्छ । यस्ता विसङ्गति हटाउन सबै पक्षको सन्तुलित विकास हुनु आवश्यक छ । बालबालिकामा विकास हुने नराम्रो आचरण रोकेर बालबालिकाका समस्यालाई मनोवैज्ञानिक तरिकाबाट हटाउनु आजको आवश्यकता हो । राज्यस्तरबाट बाल न्यायालय, बाल सुधार गृह, बालबन्दी गृह आदिको बन्दोबस्त गरिदिनु पर्छ । यस्तै मनोविज्ञान परामर्श, खेल चिकित्सा र नशालु पदार्थको रोकथाम गर्ने संस्थाका आवश्यक छ । भारतमा अचेल बाल अपराध न्यून गर्न बाल सुधार गृह, मानसिक अस्पताल, बाल सेवा केन्द्र आदि स्थापना गरिएको छ । नेपालमा पनि हाल बाल हितका लागि बाल सुधार गृह र बाल सङ्गठन स्थापना गरेको पाइन्छ ।
कुनै पनि देशमा बालबालिका राष्ट्रिय अमूल्य धन हुन् । यिनीहरू नै भविष्यका कर्णधार, सबल नागरिक र अभिभावक हुन् । आजको बाल बालिकाको हित, संरक्षण र विकास देशको भविष्यसँग गाँसिएको हुन्छ । बाल बालिकाको सुन्दर भविष्य निर्माणका लागि उनीहरूका कल्याणसँग जोडिएका सङ्घ संस्थाको सहयोग महत्वपूर्ण छ । बालबालिकालाई सुहाउँदो वैज्ञानिक ढङ्गले शिक्षादीक्षा दिई, राष्ट्रिय भावना जगाई सच्चा चरित्रवान्, देशभक्त, नागरिक बनाउन तदनुकूल वातावरण सिर्जना गर्नु र यसको व्यवस्था गर्न सकिएमा बाल अपराध हुनबाट वञ्चित हुने छ ।