• १२ फागुन २०८१, सोमबार

हात्ती बस्तीमा, गाउँले त्रासमा

blog

सर्लाही समाचारदाता

सर्लाही, फागुन १२ गते  । सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुु-याउने क्रम रोकिएको छैन ।  चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती जिल्लाको पश्चिमी भेगतर्फ लागेका छन् । हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाका विभिन्न बस्तीमा पसेर घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुु-याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

हात्तीले आइतबार बिहानपख बागमती नगरपालिका–३, धरहरामा बाबुलाल स्याङ्तानको घरमा बाँसको टाटीले लगाएको बेरा भत्काएर भित्र राखेको दुुई क्विन्टल धान खाइदिएको छ । हात्तीले स्याङ्तानको एक कट्ठाको मकै, दुुई वटा केराको बोट, रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको एक/एक कट्ठामा लगाएको मकै खेती नष्ट गरेको पीडितले बताएका छन् । 

सोही हात्तीको समूहले शनिबार राति हरिवन नगरपालिका–६, चार्लीटोलका डिल्लीप्रसाद उप्रेतीको तीन कट्ठाको मकै र १५ वटा केराको बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन कट्ठाको मकै बाली र २० वटा केराको बोट र मीनप्रसाद उप्रेतीको पाँच कट्ठाको मकै बाली र १० वटा केराको बोट नष्ट गरेको छ । यसअघि रातको समयमा मात्रै जङ्गली हात्ती देखा पर्ने गरेकोमा आइतबार भने दिउँसै बस्तीमा पसेको स्थानीले बताएका छन् । 

हरिवन र बागमती नगरपालिकाको जङ्गलनजिकै रहेका बस्तीमा आइतबार दिउँसै तीन वटा माउ जङ्गली हात्ती डुलिरहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुुभयो । 

जिल्लामा एक सातादेखि यसरी निरन्तर जङ्गली हात्तीले आतङ्क मच्चाइरहँदा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्ती पर्सा राष्ट्रिय निकुञ्जतर्फ फर्किएर जाने भएकाले जथाभाबी नजिस्काउन र जङ्गलनजिकका बस्तीमा बसोबास गर्ने स्थानीयलाई चनाखो रहन अनुरोध गर्दै आइरहेको छ । सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले हात्तीले घर तथा अन्नबालीमा क्षति पुु-याए डिभिजन वन कार्यालयमा प्रक्रिया पुु-याएर निवेदन दिँदा क्षतिपूर्ति प्रदान गरिने बताउनुभएको छ ।