• १२ फागुन २०८१, सोमबार

‘पहाड’ को छायाङ्कन सुरु

blog

काठमाडौँ, फागुन १२ गते । निर्देशक तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘पहाड’ छायाङ्कन सुरु भएको छ । गत माघ २२ गते मुहूर्त गरेर छायाङ्कन सुरु गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकूल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिनुभयो । 

युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तितो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताउनुभयो । 

ओजस्वी केसी निर्माता रहनुभएको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहनुभएको छ । चलचित्रमा विपिन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँलगायतका कलाकारको अभिनय रहेको छ । 

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेतृका रुपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ । चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी लिनुभएको छ । चलचित्रमा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहनुभएको छ ।