गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले उत्पादन र समृद्धिसँग जोडेर प्रदेश अनुकूलतामा खोज अनुसन्धान गर्न थालेको छ । सातै प्रदेशमा कार्यालय स्थापना गरी सम्भावना भएको क्षेत्रको पहिचान गरेर विषयविज्ञद्वारा अनुसन्धान थालिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा दिलिप सुब्बाले देश सङ्घीयतामा गएपछि स्थानीय विशेषतामा आधारित भई खोज अनुसन्धानको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । उहाँले प्रदेश अनुकूलतामा खोज अनुसन्धान गर्न कोशीको धरान, मधेशको बर्दीबास, बागमतीको भरतपुर, गण्डकीको पोखरा, लुम्बिनीको देउखुरी उपत्यका, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको महेन्द्रनगरमा विषयविज्ञसहित चार पाँच जना कर्मचारी राखेर कार्यालय स्थापना गरेको जानकारी दिनुभयो ।
सातै प्रदेशको खोज अनुसन्धान र नवप्रवर्तनमा नास्टले कुल दुई करोड रुपियाँ बजेट विनियोजन गरेको छ । उपकुलपति सुब्बाले भन्नुभयो, “कोशी प्रदेशमा अन्नबाली र फलफूलको खोज अनुसन्धान तथा मधेशमा चुरे ‘लाइफ लाइन’ भएकाले त्यसको व्यवस्थापन गरेर समृद्धिसँग जोड्ने हो ।
बागमती स्वच्छ वातावरणसहित सहरी विकास, गण्डकी पर्वतीय हरियालीसँगै पर्यटन प्रवर्धन, लुम्बिनी परम्परागत प्रविधि र सिप संरक्षण, कर्णाली सूचना प्रविधिसँग जोडेर समृद्धि, सुदूरपश्चिम जडीबुटीको संरक्षणसँगै खोज अनुसन्धान गर्ने लक्ष्य बनाइएको छ ।” उपकुलपति सुब्बाले लामो समयको प्रयासपछि प्रदेश अनुकूलतामा उत्पादनलाई केन्द्र बनाएर अनुसन्धानले गति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “नास्टको जनशक्ति थोरै छ । आर्थिक वर्ष २०८०/८१ मा कार्यालय स्थापना गरेपछि प्रदेशमा खोज अनुसन्धान गर्ने आधार बनायो । चालु आर्थिक वर्षदेखि अनुसन्धानले गति लिएको छ ।”
सुब्बाले राज्यले विज्ञान र प्रविधिलाई प्राथमिकता दिएर लगानी नगरेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान गर्न लामो समय लाग्छ । यसको तत्काल नतिजा आउँदैन, त्यसका लागि केही समय पर्खिनु पर्छ । यसले दीर्घकालीन अर्थ राख्छ ।”