• ११ फागुन २०८१, आइतबार

‘कांग्रेसका मन्त्रीहरू एमालेसँग सहकार्यमा काम गर्नुहोस्’

blog

नेपाली कांग्रेसका नेता शेखर कोइराला ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन ११ गते ।  नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा (एमाले) सँग सहकार्य गरेर देखिने काम गर्न आग्रह गर्नुभएको छ । सरकार बाहिर रहेका कांग्रेसले त्यसकालागि दबाब दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोइरालाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्न आवश्यक रहेको तर बाहिर रहेका अन्य सांसदहरूले खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा पनि एमाले नै कांग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरूले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने बताउनुभयो । 

नेता कोइरालाले २०८२ को मङ्सिरभित्र पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताउनुभयो । तोकिएको समय भन्दापछि धकेलेर अधिवेशन गरे कांग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताउनुभयो । 

सांसद कोइरालाले भन्नुभयो, ‘नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिरभित्र हुनुपर्छ भन्ने धेरै कार्यकर्ताको इच्छा छ । चार वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ । तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली कांग्रेसको विधानले रोक्न सक्नेछ । तर कुनै पनि हालतमा २०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीको तर्क छ, त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ ।’ 

अहिले प्रमुख दुई दलसँगै सरकारमा सहकार्य गरे पनि भोलिको प्रतिष्पर्धी शक्ति पनि यी दुवै रहेको उहाँको भनाइ छ । “जो साथीहरू सरकारमा जानुभएको छ, ती साथीहरूले एमालेसँग सहकार्य गर्नुहोस् । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौं, हामीले खबरदारी गरिरहनु पर्छ ।’ सांसद कोइरालाले सरकारलाई खबरदारी गर्नु आफूहरूको दायित्व भएको बताउनुभयो ।्र