• १२ फागुन २०८१, सोमबार

‘हरित विद्यालय निर्माणमा सरकार लाग्छ’

blog

कार्यक्रममा सहभागीलाई सम्मान गर्नुहुँदै वन तथा वातावरण राज्यमन्त्री रूपा विक र बज्र फाउन्डेसन हल्यान्डका अध्यक्ष मार्टिन ओल्थोफ ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, फागुन १२ गते । सङ्घीय सरकारको वन तथा वातावरण राज्यमन्त्री रूपा विकले नेपालमा हरित विद्यालय निर्माणमा सरकार लाग्ने बताउनुभएको छ । नेपालकै एक मात्रै हरित विद्यालय बज्र एकेडेमीको वातावरणमैत्री नाट्य कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले गुणस्तरीय शिक्षा, वातावरण चेतना र सामाजिक दृष्टिकोणको विकासका लागि सरकार हरित विद्यालय सञ्चालनमा लाग्ने बताउनुभएको छ । 

विद्यालयका विद्यार्थीले मानव जीवन र वातावरणबिचको सम्बन्धबारे रामायणभित्र लुकेका प्रकृति प्रेम, प्रकृतिमैत्री घटनालाई नाट्कको माध्यमबाट प्रस्तुत गरेका थिए । मानवले गर्ने हरेक विकास प्रकृतिमैत्री हुनुपर्ने र त्यसले मानव जीवनलाई रक्षा गर्ने नाटकको मूल उद्देश्य रहेको थियो ।  

यस्तै सोही कार्यक्रममा बज्र फाउन्डेसन हल्यान्डका अध्यक्ष मार्टिन ओल्थोफले विद्यालयदेखिकै शिक्षा मानव र वातावरणबिचको सम्बन्धलाई प्रकृतिमैत्री र दिगो बनाउने खालको हुनुपर्ने बताउनुभयो । वज्र एकेडेमीका कार्यकारी निर्देशक भूपेन्द्रविक्रम थापाले सरकारले हरित विद्यालय निर्माणमा नीतिगत व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको छ ।

२०६३ सालमा स्थापना भएको नेपालकै एक मात्र हरित विद्यालय बज्र एकेडेमी हो । सोही कार्यक्रममा वातावरण क्षेत्रमा उल्लेख्य योगदान गरेबापत तनुजा पाण्डेलाई ५१ हजार राशिको बज्र इको अवार्ड प्रदान गरिएको छ । नाटक हेर्न अभिभावक, विद्यार्थी, स्थानीयको सहभागिता थियो ।