स्वास्थ्य नै सबैभन्दा ठुलो धन मानिन्छ । वैदेशिक रोजगारीमा गएका नेपालीका निम्ति सहज स्वास्थ्य सेवा पाउन सजिलो हुँदैन । श्रम बजारको विश्वव्यापी मान्यता जेसुकै भए पनि सस्तो र स्वस्थ श्रमिकको खोजी श्रम गन्तव्य भएका सबै मुलुकको पहिलो प्राथमिकता हुने गर्छ । सकभर उपचारै गर्नु नपरोस् भन्ने तवरले श्रमिक लिने गरिन्छ । रोजगारीमा जानुअगावै नेपालमा स्वास्थ्य परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यस्तो प्रतिवेदन धेरैजसो औपचारिकतामा सीमित हुन्छ । मान्यता र सिद्धान्तमा जेसुकै भनिए पनि वैदेशिक रोजगारीमा गएका अधिकांश नेपालीले पाउने स्वास्थ्य सेवा दुर्लभ नै हुन सक्छ । त्यस्तो अवस्थामा अनेक विकल्प उपयोगी हुन सक्छन् । वास्तवमा स्वास्थ्य बिमाको व्यवस्था र प्रभावकारी कार्यान्वयन भइदिएको भए श्रम गन्तव्यका धेरै मुलुकमा नेपालीको स्वास्थ्य उपचार सहज हुने थियो । व्यावहारिक कार्यान्वयनमा स्वास्थ्य बिमा सहज प्रक्रिया होइन । स्वास्थ्य सेवा विश्वभर नै महँगो हुँदै गएको छ । स्वास्थ्य क्षेत्र जतासुकै सेवामूलकभन्दा पनि मुनाफामूलक व्यवसाय बन्दै गएको परिवेशमा सञ्चार प्रविधिका माध्यमबाट प्रदान गरिने सेवा पनि सानो विकल्प मान्नुपर्ने हुन्छ । यो सानो तर निःशुल्क विकल्पमा पनि वैदेशिक रोजगारीमा गएका केही हजार नेपालीले पाएको सेवा उदाहरणीय देखिएको छ ।
वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन युनिटले वैदेशिक रोजगारीमा गएका नेपालका निम्ति टेलिमेडिसिन सेवा दिइरहेको छ । विदेशमा श्रमिकले भोग्दै आएका स्वास्थ्य समस्या समाधान गर्न सहयोग पु¥याउन पहिलो पटक यस्तो सेवा सञ्चालनमा ल्याइएको हो । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलक्षित निःशुल्क टेलिमेडिसिन सेवा सीमित विकल्पमध्ये एक हो । वैदेशिक रोजगारीमा रहेका श्रमिकले सूचना प्रविधिमार्फत अस्पतालको टेलिमेडिसिन युनिटमा आफ्नो स्वास्थ्य समस्या प्रस्तुत गर्छन् । रोगका लक्षण बताउने गर्छन् । फोन, ह्वाट्सएप, भाइबार आदिमार्फत आउने यस्ता जानकारी चिकित्सकसम्म पुग्ने छ । प्राप्त समस्याको जानकारी चिकित्सकीय तवरले विचारविमर्श गरी सेवा प्रदान गरिने छ । यसमा सेवा प्रारम्भको दुई वर्षमा छ हजार ६७८ जनाभन्दा बढीले स्वास्थ्य परामर्श लिएका छन् । वीर अस्पतालमा सञ्चालन गरिएको टेलिमेडिसिन युनिटका अनुसार फोनमार्फत आएको रेकर्ड गरिए पनि सबै व्यवस्थित भने गर्न सकिएको छैन । सकेसम्म श्रमिकलाई चिकित्सकीय परामर्श भने दिने गरिएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालले यस्तो सेवा प्रदान गरिरहेको छ । सञ्चालन गरिएको चिकित्सक परामर्श युनिटले विभिन्न ३१ देशमा कार्यरत नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएको छ । बोर्डले २०७९ चैत १५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सुल्झाउने उद्देश्यले वीर अस्पतालमार्फत निःशुल्क टेलिमेडिसिन सेवा दिँदै आएको हो । बोर्डले वीर अस्पतालमा सुरु गरेको स्वास्थ्य युनिटका मेडिकल अधिकृत डा. सञ्जय धरेलका अनुसार विदेशबाट टेलिमेडिसिन सेवा लिनेमध्ये सबैभन्दा धेरैमा कब्जियत, पेट दुख्ने र खान मन नहुने, छालाको समस्या रहेको जानकारी दिनुभयो । त्यसै गरी ढाड दुख्ने, हातखुट्टा सुनिने, मुटुको धड्कन बढ्ने, मनोरोगसम्बन्धी समस्या पनि श्रमिकले झेलिरहेका छन् । सेवा लिन चाहने श्रमिकले सुनाएका लक्षणका आधारमा सम्बन्धित विशेषज्ञ चिकित्सकले हेरेर चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराइँदै आएको हो । त्यसैका आधारमा स्वास्थ्य समस्या रहेका बिरामी श्रमिकले औषधी किनेर प्रयोग गर्ने छन् ।
स्वास्थ्य सेवा लिनेमा सबैभन्दा धेरै मलेसिया र खाडीका देशमा कार्यरत श्रमिक धेरै रहेका छन् । त्यति मात्र होइन, अमेरिका, बेलायत, जापान र दक्षिण कोरिया जस्ता सम्पन्न मुलुकमा पुगेका नेपाली श्रमिकले पनि स्वास्थ्य सेवा लिएका छन् । सेवा प्रदान आरम्भ गरेको यो दुई वर्ष लगभगको अवधिमा मलेसियामा कार्यरत ९९८, साउदी अरबबाट ७२२ र युएईबाट ४४४ र कतारबाट ३९८ जनाले स्वास्थ्य परामर्श सेवा लिएका छन् । यस अवधिमा नेपालीको आकर्षक श्रम गन्तव्य देश मानिने दक्षिण कोरियामा २७४ जना र जापानमा कार्यरत १३३ जना नेपालीले स्वास्थ्य परामर्श सेवा लिएको देखिएको छ । यस्तो खालको सेवा प्रभावकारी बनाउन सजिलो नभएको स्वयम् सरकारका अधिकारी नै स्वीकार्ने गर्छन् । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार नेपालमा रहेका चिकित्सकले विदेशमा रहेका श्रमिकले भनेका कुरालाई आधार मानेर दिने स्वास्थ्य सेवा प्रत्यक्ष भेटेर बिरामी परीक्षण गरे जस्तो प्रभावकारी हुने छैन । यो सानो विकल्प भए पनि अरू विस्तारित र रचनात्मक आयामतिर जानु वाञ्छनीय देखिन्छ ।