चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन १० गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मैवाखोला गाउँपालिका कमिटीको अध्यक्षमा चन्द्रकुमार तामाङ चयन हुनुभएको छ । गाउँपालिका कमिटीको तेस्रो अधिवेशनले तामाङ अध्यक्ष रहेको नयाँ पालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
पालिका कमिटीको उपाध्यक्षमा ठाकुरसिंह वनेम, रीता शेर्पा र तुलसा विक चयन हुनुभएको छ । यस्तै, सचिवमा पूर्णध्वज वनेम, सहसचिव कृष्ण वनेम र कोषाध्यक्षमा सुरेन्द्रकुमार वनेम चयन हुनुभएको छ । गाउँपालिका अधिवेशनबाट ३९ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
तामाङ मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका वडाध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले पालिका अधिवेशनको उद्घाटन गर्नुभएको थियो । यस्तै उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम लगायतका नेता गणको उपस्थिति थियो ।
यता, मैवाखोला गाउँपालिकासहित जिल्लाका चार वटा स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भई नयाँ कमिटी चयन भइसकेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूका अनुसार मैवाखोला बाहेक फुङलिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । नौ वटा स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहमा पनि अधिवेशनको तयारी भइरहेको लिम्बूले जानकारी दिनुभयो ।