• १० फागुन २०८१, शनिबार

माझी समुदायलाई लदीपूजामा बिदा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन १० गते  । माझी समुदायको विशेष पर्व लदीपूजाका अवसरमा बागमती प्रदेश सरकारले फागुन २० गते बिदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले माझी समुदायको विशेष पर्व लदीपूजाका अवसरमा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सो जानकारी दिनुभयो । यसअघि नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिले गत माघको अन्तिम साता लदी (कोशी) पूजाका अवसरमा बागमती प्रदेश सरकारसँग सार्वजनिक बिदा दिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियोे । 

नेपालको मध्यपहाडी, भित्री मधेश र तराईका जिल्लामा माझी समुदायको प्रमुख बसोबास छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीको पुख्र्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भए पनि यिनले हाल कृषि पेसालाई मुख्य पेसाका रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिको बसोबास प्रायः नदी किनारमा रहेको छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार नेपालमा माझीको जनसङ्ख्या एक लाख ११ हजार ३५२ रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोबास गर्छन् । यसै गरी मन्त्रीपरिषद् बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गर्ने निर्णय गरेको छ ।

बैठकले दुई कर्मचारीको बढुवा र पदस्थापन गर्ने निर्णय गरेको छ । सङ्घीय सरकारबाट सरुवा भएका राजपत्राङ्कित प्रथम श्रेणीका उदय रानामगरलाई पदस्थापन र प्रदेशका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार सिंहलाई प्रदेशको ११ औँ तहमा बढुवा गर्ने निर्णय गरिएको हो ।

रानामगरलाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिवमा पदस्थापन गरिने भएको छ । पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत सिंहलाई कार्यसम्पादन तथा योग्यताका आधारमा बढुवा गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको हो । 

बैठकले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया सहरबिच भगिनी सम्बन्ध स्थापनाका लागि सङ्घीय सरकारलाई परामर्श दिने निर्णय गरेको छ । साथै मन्त्रीपरिषद् बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका दुई वटा कार्यविधि प्रविधि हस्तान्तरणसम्बन्धी कार्यविधि र तालिम सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले अस्ट्रेलियामा हुने वनडढेलोसम्बन्धी सम्मेलनमा सहभागी हुन प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बराललाई भ्रमण आदेश स्वीकृत दिने निर्णय गरेको छ । मन्त्री लामिछानेका अनुसार मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगमा समपूरक र विशेष अनुदानका १०/१० वटा योजना पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।