साहारा लिम्बू
फुङ्लिङ, फागुन ९ गते । ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले पुनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो ।
यसअघि माघ २० गते मन्त्रालयद्वारा गठित वार्ता टोलीका संयोजक एवं गृह–मन्त्रालयका सह–सचिव प्रेम प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि अपिल गरिएको छ ।
पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको स्थानीय समस्याको समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
यसअघि आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत वार्ता सहजीकरण समितिबिच माघ २२ गते देखि निरन्तर रूपमा वार्ता एवम् संवाद भई रहेको व्यहोरा समेत जनाइएको छ ।