• १० फागुन २०८१, शनिबार

अनुदानमा प्राङ्गारिक मल वितरण

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, फागुन ९ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल वितरण सुरु गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लीयपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल वितरण सुरु गरेको हो । 

खासगरी रासायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उद्देश्यले अनुदानमा प्राङ्गारिक मल वितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

उहाँले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाइट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुँदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताउनुभयो ।

नगरपालिकाले वितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसाबारी, फलफूलका बिरुवाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल वितरण गर्ने छ ।

२५ किलाेग्रामको एक बोरालाई बजारमा प्रतिकेजी ३२ रुपियाँ पर्छ । नगरपालिकाले कृषकलाई १६ रुपियाँमा वितरण गरिरहेको हो । यो मल झारपात, कुखुराको सुली जस्ता फालिएकाे फोहोरबाट बन्ने हुँदा अर्गानिक खेतीको लागि बढी उपयोगी रहेको उहाँले बताउनुभयो । कम जग्गा भएका र कौसी खेती गर्नेलाई लक्षित गरी मल वितरण गरिएको हो ।