गणेश खनाल
अर्घाखाँची, फागुन ९ गते । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुँदैछ । सामाजिक विकास मन्त्रालयले प्रदेशको सबै विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु गर्न लागेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आज शुक्रबार आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिदैछ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान आवश्यक परेको हो, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालप्रति अझै भरोसा र विश्वास बढाउन जरुरी छ ।
सार्वजनिक बिद्यालको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालयप्रतिको जवाफदेहीता वृद्धि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो ।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षितगरी यो अभियान सञ्चालन गरिन थालेको जानकारी दिनुभयो ।
यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्व विद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबिच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।
प्रदेशमा ६ हजार तीनसय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुईसय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छसय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।