• २० चैत २०८१, बुधबार

रातु खोला दोहन गर्ने एक्स्काभेटरसहित दुई जना पक्राउ

blog

प्रहरीले नियन्त्रणमा लिएको एक्स्काभेटर । तस्बिर: अमृत

अमृतकुमार महतो 

बिजलपुरा ( महोत्तरी ), फागुन ८ गते । मापदण्डविपरीत उत्खनन गरेको आरोपमा महोत्तरीको रातु खोलाबाट प्रहरीले दुई जना एक्स्काभेटर चालकलाई पक्राउ गरेको छ । 

बर्दिबास नगरपालिका – ९, पशुपतिनगरस्थित पथलैया खण्डको झोलुङ्गे पुल नजिकैबाट नदीजन्य पदार्थ झिकिरहेको अवस्थामा एक्स्काभेटर चालक पक्राउ परेको हो । 

इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवती रमण पोखरेलले मापदण्ड उल्लङ्घन गरेर खोलामा हाल्नै नमिल्ने ठुला मेसिन प्रयोग गरेर उत्खनन गरिरहेको अवस्थामा एक्स्काभेटर चालक सरोज कुशवाहा र विजय चौधरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

रातु खोलामा उत्खननको नाममा मापदण्ड विपरीत उत्खनन भइरहेको भन्दै स्थानीय आन्दोलित भएपछि प्रहरी खोलामा पुगेको थियो । मापदण्ड विपरीत खोला उत्खनन गरिरहेको एक्स्काभेटर चालकलाई पक्राउ गरी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । 

पुलबाट पाँच सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने व्यवस्था छ, तर रातु खोलाको पथलैया खण्डस्थित झोलुङ्गे पुलको दुई सय मिटर नजिकैबाट उत्खनन हुँदा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।

बर्दिबास नगरपालिकाले रातु खोलाको ठेक्का सम्बन्धी अधुरो कागज बुझाएको हुँदा अनुगमन गर्न अप्ठ्यारो भएको जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुमन कर्णले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रहरी कति बेला खोलामा जान्छ थाहा भएन ।, प्रहरीले पक्राउ गरेको चालक बारे हामीलाई कुनै किसिमको जानकारी दिएको छैन ।’

आइतबार बर्दिबास नगरपालिकाकी उपप्रमुख तारादेवी महतोको नेतृत्वमा गएको अनुगमन टोलीले रातु खोलामा मापदण्डविपरीत उत्खनन गरेको पाइएको थियो । छ फिटसम्म उत्खनन गरिएको, मध्यरातमा पनि उत्खनन गर्ने गरिएको, पुल नजिकैबाट नदीजन्य पदार्थ झिकिएको पाइएको छ ।