• ९ फागुन २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय गतिविधि

दिल्लीमा भाजपा सरकारको शपथ

blog

भारतको राजधानी रहेको दिल्ली प्रदेशमा आज सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले नयाँ सरकार बनाउँदै छ । आज रामलीला मैदानमा नयाँ मुख्यमन्त्रीसहित क्याबिनेट मन्त्रीहरूले शपथ लिने कार्यक्रम छ । मुख्यमन्त्रीको दौडमा रेखा गुप्ता, प्रवेश बर्मा, सतीश उपाध्याय र आशिष सुद हुनुहुन्छ । भाजपाले २७ वर्षपछि दिल्लीमा प्रदेश सरकार बनाउन लागेको हो । 

राजनीतिमा सत्ता सम्भावनाको खेल हुन्छ । कति बेला सत्तामा पुगिन्छ र कति बेला हट्नु पर्छ थाहा हुँदैन । राजनीति गर्नेले घमण्ड गर्नु हुँदैन । प्रचण्ड बहुमत ल्याएर दुई कार्यकाल दिल्ली राज्यको सत्ता चलाएको आम आदमी पार्टी (आप) यस पटक भने नराम्ररी पराजित भएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले भारतको राजधानी दिल्लीमा २७ वर्षपछि पहिलो पटक चुनावी जित हासिल गर्दै आज सरकार बनाउँदै छ । भाजपाले ७० सिट रहेको दिल्ली विधान सभामा ४८ सिटमा जित हासिल गरेको छ भने सत्तामा रहेको आम आदमी पार्टी (आप) २२ सिटमा सीमित भएको छ । कुल ३५ भन्दा बढी सिट जित्ने दलले बहुमतको एकल सरकार बनाउन सक्छ ।‘विकासको जित, सुशासनको विजय’ भन्दै प्रधानमन्त्री मोदीले आफ्नो पार्टीले दिल्लीको विकासमा कुनै कसर नछाड्ने बताउनुभएको छ । 

भारतीय मतदातामाझ मोदीको लोकप्रियतालाई सुदृढ बनाउन दिल्लीमा भाजपाको जित राजनीतिक रूपमा महत्वपूर्ण छ । उहाँको पार्टीले अत्यधिक एकल बहुमत ल्याउने अपेक्षा गरिएको पछिल्लो आमचुनावमा भने स्पष्ट बहुमत गुमाएको थियो । सानो क्षेत्रीय दल आपका लागि यो पराजय एउटा ठुलो झट्का हो । एउटा सानो क्षेत्रीय दल भए पनि सहरमा शिक्षा र स्वास्थ्य सुविधा सुधार गर्न ध्यान केन्द्रित गरेकोमा दिल्लीमा सत्ता समालेका प्रारम्भिक वर्षहरूमा आपको प्रशंसा हुने गरेको थियो ।

अरविन्द केजरिवालको दल पन्जाब राज्यमा पनि सत्तामा छ । यतिखेर आफ्नो भविष्यबारे प्रश्न उठाइएको यस दलका लागि दिल्लीको आफ्नो वर्चस्व कायम राख्नु सङ्कटमाथिको विजय हुने थियो । मध्यम वर्गमा केजरिवालको भ्रष्टाचारविरोधी अडानका कारण चुलिएको आपप्रतिको आकर्षण एक दशक दिल्लीको सत्तामा रहेपछि घटेको छ ।

मध्यम वर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरिवालले गरिबको पार्टी बन्ने बाटो रोज्नुभएको थियो । भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरिवाल स्वयम्को गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्‍याउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग गर्‍यो ।

२७ वर्षमा भाजपाले दिल्लीमा ल्याएको पहिलो बहुमत एउटा ऐतिहासिक जित हो । यसको परिवर्तनको सन्देशले काम गर्‍यो । अनि यसको राजनीतिक र आर्थिक बलले ठुलो जित दिलायो । केजरिवाल चुनावमा पराजित भए पनि मुख्यमन्त्री आतिशीले झिनो अन्तरले जित हासिल गर्नुभयो । आपका शीर्ष नेताहरू केजरिवाल र मनिष सिसोडिया पराजित भएपछि आपमा ठुलो निराशा छाएको छ । कुल ६० प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेको चुनावमा धेरै जसो ‘एक्जिट पोल’ ले भाजपाले पूर्ण बहुमत ल्याउने भविष्यवाणी गरेका थिए । विगतमा त्यस्ता भविष्यवाणी गलतसमेत साबित भएका थिए ।

भाजपाको धेरै जसो प्रचार अभियान केजरिवाललक्षित थियो । भ्रष्टाचारविरोधी अभियानकर्मी केजरिवाल मदिरा बिक्री नीतिसम्बन्धी भ्रष्टाचारको मुद्दामा सिसोदियासँगै जेल पर्नुभयो । यो नीति यतिखेर खारेज गरिएको छ । महिनौँ जेलमा बिताएर हालै जमानतमा रिहा भएका उहाँहरूले ती आरोप अस्वीकार गर्दै आउनुभएको छ । केजरिवालले मोदीको पार्टीले आफू र आपविरुद्ध राजनीतिक प्रतिशोध लिएको आरोप लगाउनुभएको छ तर भाजपाले त्यसलाई अस्वीकार गरेको छ । 

सङ्घ प्रशासित दिल्लीको शासनव्यवस्था अनौठो छ । सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापन जस्ता विषयमा मुख्य निर्णय लिने अधिकार सङ्घीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ । राज्य सभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ । प्रतिस्पर्धी पार्टीले सङ्घीय सरकार र राज्य सरकार सञ्चालन गर्दा अधिकार प्रयोगको विषयमा केन्द्र र राज्य सरकारबिच टकराव देखिने गरेको छ । अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिकभन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिएका थिए ।

आप र भाजपा दुवैले सरकारी विद्यालयमा सुधार, निःशुल्क स्वास्थ्य सेवा र महिलाका लागि भत्ताको नारा अघि सारेका थिए । हालै सार्वजनिक भारतको बजेटमा मध्यम आय भएका मानिसका लागि कर छुटको घोषणा भएको छ । मध्यम आय भएका मानिसको उच्च जनसङ्ख्या बसोबास गर्ने दिल्ली राज्य सभा निर्वाचनमा त्यसको फाइदा आफूलाई पुग्ने भाजपाको आकलन थियो ।

देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्य सभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए । भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो । मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरिवालको आपले सरकार चलाइरहेको थियो । भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन । सन् १९९८ यता राजधानीमा सत्ताबाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्वपूर्ण आधार पाएको छ । कङ्ग्रेस आईले सन् १९९८ देखि २०१३ सम्म त्यहाँ सरकार चलाएको थियो तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताले कङ्ग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्‍याएका थिए ।

लोकतन्त्रमा जनादेश नै सर्वोपरि हुन्छ । मताधिकारमार्फत जनताले दिएको आदेशलाई सबैले स्वीकार गर्नु पर्छ । चुनावमा हारजित स्वाभाविक हुन्छ । चुनाव हार्दा आत्तिने र जित्दा मात्तिने गर्नु हुँदैन । मतदाताको पक्षमा काम गर्न नसक्दा चुनाव हारिन्छ भने राम्रो काम गरेको अनुभूति मतदाताले गरे भने चुनाव जितिन्छ । चुनावको परिणामलाई हार्ने र जित्ने दुवै पक्षले गम्भीर रूपमा लिने र आत्मसमीक्षा गर्नु पर्छ ।  विश्वकै सबभन्दा ठुलो लोकतान्त्रिक अभ्यास गर्ने मुलुक भारतमा गत वर्ष सम्पन्न १८ औँ लोक सभा निर्वाचनको जनादेशले अनौठो परिणाम आएको थियो । निर्वाचनको परिणाम आउनुअघि गरिएका मतसर्वेक्षणविपरीत छक्क पार्ने मतपरिणाम आयो । यो परिणामले गठबन्धन गरेका सत्तापक्ष, प्रतिपक्षलगायत सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई आआफ्ना सीमामा बस्न साथै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न पाठ सिकाएको छ । 

गठबन्धन गरे पनि पहिलो र दोस्रो कार्यकाल भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट एकल बहुमत ल्याएर शक्तिशाली सरकार चलाउनुभएका प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालको थालनी भने सहज भएन । सम्पन्न १८ औँ लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत ल्याए पनि भाजपा एक्लैले भने संसद्मा बहुमत गुमायो । अहिले प्रधानमन्त्री मोदी गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालमा हुनुहुन्छ । उहाँले पुराना र अनुभवी साथै केही नयाँ अनुहार गरी ७२ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभयो ।  

मोदी लगातार तेस्रो कार्यकालमा पुग्ने जवाहरलाल नेहरूपछिको पहिलो प्रधानमन्त्री बन्नुभयो । राष्ट्रिय कङ्ग्रेसका तर्फबाट एकल बहुमत ल्याएर नेहरू सन् १९५२, १९५७ र १९६२ गरी लगातार तीन पटक प्रधानमन्त्री बन्नुभएको थियो । मोदीले निर्वाचनको जनादेश अनुसार सत्ता साझेदार दलहरूसँगको सहकार्य र सहमतिमा सरकार चलाउने र विपक्षीलाई पनि विश्वासमा ल्याएर राजनीतिक स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

विगतका दुई कार्यकालमा भारतको राजनीतिमा प्रधानमन्त्री मोदीको दबदबा थियो । उहाँको महत्वाकाङ्क्षा पनि बढी थियो । पछिल्लो पटक प्रधानमन्त्री मोदी भाजपा एक्लैले ३७० सिट र सत्तारूढ गठबन्धनले चार सयभन्दा बढी सिट जित्न महत्वाकाङ्क्षी योजनासहित चुनावमा होमिनुभएको थियो । भारतीय सञ्चार माध्यम पनि मोदीकै पक्षमा थियो । चुनावी परिणाम सोचेभन्दा विपरीत आयो । 

अर्कोतर्फ प्रमुख प्रतिपक्षी राष्ट्रिय कङ्गे्रस नेतृत्वको गठबन्धन ‘इन्डिया’ मोदीको दबदबालाई अङ्कुश लगाउन सकिन्छ कि भन्ने झिनो आशासहित चुनावी मैदानमा होमिएको थियो । कङ्ग्रेस र गठबन्धन ‘इन्डिया’ ले यति धेरै सिटमा मतदाताले जिताउलान् भन्ने सोचेका थिएनन् । सत्तापक्ष र प्रतिपक्ष दुवैले सोचेभन्दा फरक चुनावी परिणाम आएपछि भारतको राजनीति तरङ्गित भयो ।

भारतको ५४५ सदस्यीय लोक सभा सिटमध्ये ५४३ सिटका लागि आमनिर्वाचन हुन्छ भने दुई सिटमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । बहुमतको सरकार बनाउन कुनै पनि दलले २७२ सिट जित्नु पर्छ । यस पटकको चुनावमा कुनै पनि पार्टीले २७२ सिट जित्न सकेनन् । यसले गर्दा भारतीय संसद् त्रिशङ्कु बन्यो ।

चुनावमा प्रधानमन्त्री मोदीको दल भाजपाले २४० सिट मात्र जित्यो । भाजपा गठबन्धनले भने २९३ सिट जितेर प्रस्ट बहुमत ल्यायो । प्रमुख प्रतिपक्षी कङ्ग्रेसले सोचेभन्दा बढी ९९ सिट जित्यो भने कङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धन इन्डियाले २३२ सिट जितेर बलियो प्रतिपक्ष बन्यो । अन्य केही साना दल र स्वतन्त्रले १७ वटा सिट जिते । मोदी नेतृत्वको भाजपाले अघिल्लो दुई चुनाव सन् २०१४ मा २८२ र सन् २०१९ मा ३०३ सिट जितेर एकल बहुमत ल्याएको थियो । सरकार बनाउन चाहिने सामान्य बहुमत २७२ सिट हो । भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) को सन् २०१४ मा ३३६ र सन् २०१९ मा ३५२ सिट आएको थियो । 

चुनावी परिणामलाई सहज स्वीकार गरी गठबन्धन सरकारको नेतृत्व गर्नुभएका मोदीलाई अब नयाँ ढङ्गले अगाडि बढ्नुको विकल्प छैन । सत्ता साझेदार दलहरूको सहमतिमा विश्वासको वातावरण बनाएर उहाँले पाँचै वर्ष सरकार चलाउन सक्नुभयो भने यसले भारतलाई नयाँ उचाइमा पुर्‍याउने छ । यस कार्यकालमा भारतको अर्थतन्त्रलाई विश्वको तेस्रो ठुलो अर्थतन्त्र बनाउने बताउनुभएका मोदीले अबको ध्यान उत्पादन बढाउने, महँगी घटाउने, बेरोजगारी समस्या समाधान गर्न रोजगारीका अवसर सिर्जना गर्नमा केन्द्रित गर्नुपर्ने भएको छ । 

उता अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उहाँले जारी गर्नुभएका कार्यकारी आदेशले भारत र अमेरिकाबिचको सम्बन्ध तलमाथि हुन्छ कि भन्ने चिन्ता अन्त्य गर्दै प्रधानमन्त्री मोदीले अमेरिकाबाट ग्यास र तेल खरिद गर्ने सहमति गरी दुईदिने अमेरिका भ्रमण पूरा गर्नुभएको छ । उहाँले रुस र छिमेकी चीनसित पनि सम्बन्ध राम्रो बनाउनुभएको छ । दिल्ली प्रदेशमा भाजपाको जित यसैको उपज पनि हो । सङ्घीय सरकार र दिल्ली सरकार आफ्नो भएकाले भाजपालाई काम गर्न थप सहज हुने भएको छ ।