• ९ फागुन २०८१, शुक्रबार

‘वाटर कलर ओडिसी’ प्रदर्शनी सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा ‘वाटर कलर ओडिसी’ प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको नेपालका लागि चिनियाँ राजदूत चेङ सोङले उद्घाटन गर्नुभयो । उहाँले बङ्गलादेश, चीन र नेपाललाई भौगोलिक रूपमा मात्र नभई कला र सांस्कृतिक सम्बन्धले थप नजिक बनाएको बताउनुभयो । उहाँले प्रदर्शनीले पारस्परिक सम्बन्ध प्रगाढ बढाउन थप सहयोग गर्ने धारणा राख्नुभयो । 

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला, विश्व भाषा तथा संस्कृतिबिचको सेतु भएको बताउँदै यसले विश्वलाई एकै मालामा उन्ने बताउनुभयो । उहाँले प्रदर्शनीले तीन देशबिचको सांस्कृतिक आदानप्रदान तथा आपसी भाइचारा अभिवृद्धि गर्न थप टेवा पुर्‍याउने धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका निर्देशक नन्दनी थापाले प्रदर्शनीमा दक्षिण एसियाको पुरातात्त्विक सांस्कृतिक सौन्दर्य कलामार्फत झल्केको बताउनुभयो । प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा प्रदर्शनीका चिफ क्युरेटर प्रदीप शाक्यले प्रदर्शनीलाई नेपाल, चीन र बङ्गलादेश त्रिकोणात्मक सम्बन्धलाई एक डाइमन्ड जोनसँग तुलना गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीले कुशल जल रङकर्मी जन्माउन सहयोग गर्ने बताउनुभयो । फागुन १० गतेसम्म चल्ने प्रदर्शनीमा ४० कलाकृति राखिएका छन् ।