ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन ८ गते । कवि निमेष अविरल (रुकमान थेबे) को कवितासङ्ग्रह ‘नदीको यात्रा’ बुधबार सार्वजनिक गरिएको छ । जिल्लास्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सङ्गीतकार भरत गुरुङलगायतले पुस्तक सार्वजनिक गर्नुभयो । कवितासङ्ग्रहभित्र दुई खण्डमा गरी ८५ वटा कविता समावेश छन् । पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीतिकविता रहेका छन् ।
लेखकको पहिलो कृतिका रूपमा प्रकाशित सङ्ग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थिति जस्ता भावलाई चित्रित गर्ने खालका कविता समावेश गरिएका छन् । कवितासङ्ग्रहको समीक्षा भने कविद्वय दुःखी महल तिम्सिना र लेकाली कान्छा मुक्कुमले गर्नुभएको छ । शिक्षण पेसामा आबद्ध कवि अविरलले उपलब्ध समयलाई साहित्य साधना अर्थात् सिर्जना लेखनमा उपयोग गरेका कारण कवितासङ्ग्रह तयार पारी प्रकाशन गर्न सफल भएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई ‘अकिञ्चन’ को अध्यक्षतामा भएको थियो ।