गौर समाचारदाता
गौर, फागुन ८ गते । रौतहटको विभिन्न गाउँका आँप बगैँचामा अहिलेसम्म मञ्जर लागेको नदेखिएपछि कृषक चिन्तित भएका छन् ।
यहाँको आँपमा अहिलेसम्म मञ्जर नलाग्दा जिल्लाका पिपरा, भलोहिया, जेठरहिया, औरैया, सखुअवा, राजपुर फरहदवालगायत ठाउँका किसान चिन्तित भएका हुन् । सुक्खा जमिन भएकाले अन्नबाली कम उब्जाउ हुने जमिनमा आँप लगाएका किसान यस वर्ष आँपमा फूल लाग्न ढिलो भएकोमा थप चिन्तामा परेको भलोहिया गाउँका कृषक प्रमोद महतोले बताउनुभयो ।
त्यस्तै अर्का किसान तथा आँप व्यवसायी रफिक मियाँले आँपको व्यवसायले यस क्षेत्रका व्यवसायी र किसान मात्र नभई गरिब मजदुरले राम्रो काम पाउने चिन्ता गर्नुभयो । यस वर्ष आँप बगैँचामा अहिलेसम्म पूर्ण रूपमा नफुलेपछि यतिबेला गाउँमा आँप व्यवसायी छिरेका छैनन्, आँपको फूल हेरेर ठुला बगैँचाको ठेक्कापट्टा हुने गरेको छ ।
चिासोयाममा पानी नपर्दा यस वर्ष आँप, कटहरलगायतका अन्य फलफूल समयमा फुल्न नसकेको तथा मौसम परिवर्तनको प्रभावले यस्ता समस्या देखा परेको कृषि ज्ञान केन्द रौतहटले जनाएको छ ।
आँप एक वर्ष फल्ने अर्को वर्ष कम फल्ने भएकाले गत वर्ष आँप अत्यधिक फलेको थियो तर यो सबै आँपमा हुँदैन सो कार्यालयले जनाएको छ ।जिल्लामा आठ हजार हेक्टर जग्गामा आँप उत्पादन हुने गरेको तथा यहाँको आँप काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्जलगायत ठाउँमा जाने गरेको कृषि ज्ञान केन्दका प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले बताउनुभयो ।