• ९ फागुन २०८१, शुक्रबार

वैरागी काइँलासम्बन्धी पुस्तक लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । 

कार्यक्रममा नेपाली भाषा, साहित्य र कलामा उल्लेखनीय योगदान पुर्‍याउने दुई सर्जकलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङ्गो सुब्बालाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । पूर्वकुलपति वैरागी काइँलाले सम्मानित र पुरस्कृत सर्जकलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङ्गो’ का बारेमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालीमा धसिङघरे अर्थ लाग्ने भए पनि लिम्बू भाषामा सिङजाङ्गोको अर्थ मगमगाइरहने फूल हो । छोटो समयमै लेखनमार्फत सुब्बा मगमगाइरहनुभएको छ ।” समालोचक डा. अभि सुवेदीले काइँला र तेस्रो आयामेली चिन्तनका बारेमा चर्चा गर्नुभएको थियो ।

समालोचक प्राडा गोविन्दराज भट्टराईले वैरागी काइँलालाई मुन्धुम र साहित्यका लागि पूर्वको मुक्कुमलुङ भएको बताउनुभयो । उहाँले अङ्ग्रेजीमा अनुवाद गरिएका काइँलाका १५ वटा कविताको पाण्डुलिपि प्रतिभा प्रतिष्ठानका अध्यक्ष वनेमलाई हस्तान्तरण गर्नुभएको थियो । वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थका एक सम्पादक प्रदीप मेन्याङ्बोले काइँलाका बारेमा लेख्न जोकोहीले आँट नगर्ने बताउँदै ग्रन्थ तयार गर्न धेरै दुःख गरेको बताउनुभयो । कार्यक्रमका सभापति टङ्क वनेमले बेलायत बसेर पनि नेपाली भाषा, कला र संस्कृतिलाई जोगाउन सर्जकलाई प्रोत्साहन दिइरहेको बताउनुभयो ।