• २४ असार २०८२, मङ्गलबार

सात बुँदे संकल्प पारित गर्दै बालिका सम्मेलन सम्पन्न

blog

बालिका सम्मेलनमा सहभागी किशोरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ६ गते। स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाको सहभागिता र सवाललाई प्रमुख मुद्दा बनाएर बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ।

बालिकाको अधिकार, समस्या, चुनौती र स्थानीय तहको योजना प्रक्रियामा उनीहरुलाई सहभागी गर्ने लगायतका विषयमा केन्द्रित रहेर सो सम्मेलन आयोजना गरिएको हो। 

सो सम्मेलनको मुख्य उद्देश्य बालिका सशक्तिकरण, बाल तथा किशोर अधिकार, किशोरकिशोरीका समस्या र स्थानीय तहको योजना प्रक्रियामा उनीहरुको सहभागिता बढाउने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो। 

बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको सो सम्मेलनले ६ बुँदे संकल्प तयार गरेर सो संकल्पलाई पारित समेत गरेको छ। 

सम्मेलनले पारित गरेका संकल्पमा विवाहको उमेर २० वर्षनै कायम राख्नुपर्ने, बाल विवाह अन्त्यका लागि किशोरी क्लबको अगुवाइमा समुदायमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने, बालिका तथा किशोरीको समग्र विकासका लागि स्थानीय तहलाई बजेट बिनियोजन गर्न दबाब दिने, किशोरी क्लबले नियमित रुपमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा सडक नाटक, र्याली र अन्तरक्रियामार्फत् सचेतना फैलाउने, हरेक वर्ष बाल भेला, किशोरी भेला गरेर योजना तयार पारी स्थानीय सरकारलाई बुझाउने रहेका छन्। 

सम्मेलनमा सहभागी मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरी र गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले सम्मेलनले गरेको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो।

सम्मेलनको समापन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पंचम गुरुङ र कार्यकारी सह निर्देशक महेश नेपाली, सहजकर्ता कृष्णप्रसाद पाण्डे, क्लबका कार्यक्रम अधिकृत ईश्वर विक, कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछाने र मनोज पौडेल तथा फिल्ड कर्मचारी बगवती विक, नग्मा मनिहार, रामबहादुर थारु तथा मिनु थारुको पनि उपस्थिति रहेको थियो।