चितवन समाचारदाता
चितवन, फागुन ६ गते । स्थानीय सरकारको लापर्बाहीका कारण इतिहास बोकेका चौतारा मेटिँदै गएका छन् । भरतपुर महानगरपालिका र पूर्वीचितवनका स्थानीय पालिकाले चौतारा जोगाउने विषयमा ध्यान नदिँदा ऐतिहासिक महत्त्व बोकेका, धार्मिक आस्था र सामाजिक महत्त्व जोडिएका वरपिपलका चौतारो मासिँदै गएका हुन् ।
पिपल चोक नामकरण भएको स्थानमा अहिले पिपलको रुख नै काटिएको छ । भरतपुरको मुख्य सडक र बाइपास सडकमा पिपलको रुख अहिले भेटिँदैन । सडक विस्तारका क्रममा सबै रुख काटिएका छन् । मूल सडकबाहेकको स्थानमा समेत चौतारो मासिएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
सडकछेउमा रहेका, सडकको बिचभागमा भएका, चौताराका रूपमा निर्माण गरिएका, भरतपुरका मुख्य स्थान तथा ग्रामीण स्थानका समेत चौतारा मासिएको छ । चौतारा मासिएको विषय जानकारीमा भए पनि तत्काल संरक्षणका लागि योजना नबनेको भरतपुर महानगरपालिका वातावरण महाशाखा प्रमुख विसुराम कँुवरले जानकारी दिनुभयो । “हामीलाई यो विषयमा जानकारी प्राप्त भएको छ, अब छिट्टै संरक्षणका योजना ल्याउने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “इतिहास बोकेका चौताराको संरक्षण गरिनु पर्छ ।” केही वर्षअघिसम्म बजार क्षेत्रमा प्रशस्त चौतारा थिए । बजार विस्तारसँगै चौतारा मासेर अन्य संरचना तयार गरेपछि यहाँको प्राकृतिक सुन्दरता उजाड बनेको भरतपुर महानगरपालिका–१० का स्थानीय कृष्णप्रसाद अधिकारीले बताउनुभयो । नारायणगढ र भरतपुर क्षेत्रमा अहिलेसम्म घुमफिर र खुला ठाउँमा बस्ने कुनै विश्रामस्थलको व्यवस्था छैन । पहिले पहिले यिनै चौतारा विश्रामस्थलका रूपमा उपयोग हुँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको चोकमा चौतारा थिए । अहिले त्यहाँ खाली मैदान छ । बिहान–बेलुका टहलिने, गर्मीमा शीतल स्थानमा बस्ने ठाउँको अभावमा होटल खोज्दै बस्नुपर्ने बाध्यता आइपरेको स्थानीयको भनाइ छ ।
पछिल्लो पटक सडक, बिजुली, ढल तथा आवास निर्माणसँगै भएका चौतारा पनि भत्काइएको छ । चौतारा संरक्षण र विस्तारमा अहिलेसम्म कुनै निकायको ध्यान पुग्न सकेको छैन । महानगरपालिकाको गेटअगाडि वीरेन्द्र क्याम्पस चोक, चौबिसकोठी, हाकिम चोक र नारायणगढ बजारमा भएका दुइ दर्जन चौताराका वरपिपल पछिल्लो पटक काटिएका छन् । सडक विभाग तथा महानगरपालिकाले आआफ्नो अधिकार क्षेत्रभित्रका यस्ता चौताराका वरपिपल काटेर उजाड पारेको छ । छ लेनको सडक विस्तारका नाममा चौताराका वरपिपल मात्र काटिएको छ तर उपयुक्त स्थानमा चौतारा निर्माणको कुनै योजना महानगरपालिकासँग छैन ।
चौतारा संरक्षणमा राज्यले ध्यान दिन नसकेको संस्कृतिकर्मी लक्ष्मण भण्डारीले बताउनुभयो । “केही वर्षअघिसम्म धेरै देखिने चौतारा अहिले देखिन छाडे । बस्नका लागि आरामदायी र शीतलता मात्र होइन, यी हाम्रा ऐतिहासिक वस्तु हुन् । प्राकृतिको देनलाई हामीले संरक्षण गर्नु पर्छ,” उहाँले भन्नुभयो । २०११ सालमा चितवनको विकास निर्माण सुरु भएपछि गाउँ गाउँमा चौतारा बनाउने लहर चलेको थियो । २०४० सालपछि भरतपुरले विकासको गति लिएको हो । भरतपुरको विकाससँगै दुई÷चार वटा घरको बिचमा एउटा चौतारो निर्माण गर्ने प्रचलन नै भएको स्थानीको भनाइ छ ।
चौताराको अस्तित्व मेटिन थालेकामा भण्डारी जस्तै धेरैले चिन्ता व्यक्त गर्नुभएको छ । भरतपुरको जङ्गल फाँडेर बस्ती बस्न थालेपछि चौतारा बनाउन सबै जुटेका थिए । अहिले राज्य तहबाट कुनै पहल नहुँदा भएका चौतारा पनि मासिन थालेको भण्डारीको भनाइ छ । सङ्ख्यात्मक रूपमा धेरै निर्माण गर्नुपथ्र्यो । चौतारो भत्काएर कृत्रिम संरचना तयार गर्नु हाम्रो पुरानो अस्तित्व मेटिँदै जानु हो । फराकिलो भूभाग भएकाले कुनै पनि संरचना बनाउनका लागि चौतारो नभत्काएरै काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
महानगरपालिकाले चौतारा संरक्षण र विस्तारमा कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् । घुमफिरका लागि भरतपुरमा कुनै राम्रो विश्रामस्थलको सुविधा छैन । भरतपुर महानगरका–७, कृष्णपुरको पिपल चोक, हाकिम चोक, बसपार्क चोक, मालपोत चोक, पूर्वीचितवनको टाँडी, बकुल्लहर, पर्सा बजार, खैरहनी र बाइपासका एक दर्जन स्थान तथा भित्री सडकका विभिन्न स्थानमा रहेका चौतारा अब अस्तित्वमा छैनन् ।