लीलाधर वली
घोराही, फागुन ४ गते । बाँके जिल्ला बैजनाथ गाउँपालिका–२ निवासी ३० वर्षीय तिलकराम थारू उमेरले अहिले ३० वर्षको हुनुभयो । उहाँको खुट्टाले काम गर्दैन ।
१९ वर्षको उमेर छँदा फुटबल खेल्ने क्रममा उहाँलाई चोट लाग्यो । चोटकै कारण ढाडको नसामा असर पर्दा स्पाइनल कर्डले काम गर्न छाड्यो । त्यसपछि उहाँ ह्वीलचियरको सहारामा हिँडडुल गर्दै आउनुभएको छ ।
शरीर स्वस्थ भएको समयमा फुटबल खेल्ने गर्नुभएका उहाँ शरीरले साथ नदिएपछि पछिल्लो समय बास्केटबलको खेलाडी बन्नुभएको छ । ह्वीलचियर साथी भएपछि उहाँलाई फुटबलपछि बास्केटबल रोज्नु पर्यो । बास्केटबल खेल्न थालेको ८ वर्ष भई सकेको भन्दै उहाँले भन्नुभयो,‘साँगामा पहिलो पटक बास्केटबल खेल्न सिकेको थिए, पछि, काठमाडौँमा थप सिकेपछि अहिले खेल्नका लागि विभिन्न ठाउँमा जाने गरेको छु ।’
नेपाल स्पाइनल कर्ड ईन्जुरी स्पोर्टस् एसोसियसन काठमाडौँबाट खेल्दै आउनुभएका तिलकरामले ह्वीलचियरको सहारामा थुप्रै प्रतियोगिता खेलेको बताउनुहुन्छ । लुम्बिनी प्रदेश खेलकुद परिषदले आयोजना दाङको घोराहीमा भएको प्रदेशस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा बाँके जिल्लाबाट सहभागी भएर आउनुभएका तिलकराम जस्तै प्रदेशका अरू थुप्रै खेलाडी ह्वीलचियरको सहारामा प्रतियोगितामा भाग लिनुभएको छ ।
आफू जस्ता अपाङ्गता भएका साथीहरू जम्मा भएर खेल्न पाउँदा खुसी लाग्ने गरेको भन्दै उहाँले भन्नुभयो,‘यस्ता प्रतियोगिताले हामीलाई ऊर्जा दिने गर्दछ,हामी जस्तै धेरै साथीहरू छौ भन्ने आभास दिलाउँछ ।’
प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगिताले फरक अपाङ्गता भएका खेलाडीलाई आफ्नो क्षमता बाहिर प्रदर्शनका लागि राम्रो अवसर प्रदान गरेको बताउनुभयो ।तिलकराम थारू जस्तै नेपालगन्ज उपमहानगरपालिका–७ अशोक थारू पनि प्रदेश स्तरीय ह्वीलचियर बास्केटबल खेल्न थालेको केही वर्ष भएको छ ।
उहाँको सानैमा पोलियो लागेर दुवै खुट्टाले काम गर्दैनन । तर उहाँमा भरिएको आत्मविश्वासले सपाङ्ग जस्तै छिटो छरितो रूपमा बास्केटबल खेल्नुहुन्छ । ह्वीलचियरमा बसेर उहाँले कोर्टको सेतो रेखा बाहिरबाटै स्कोर गर्न सक्नुहुन्छ ।
दङ्गीशरण गाउँपालिका–५ डाँडाचिस निवासी ३९ वर्षीय विवेक चौधरीको पनि ढाड मुनिको शरीरले काम गर्दैन । १३ वर्षअघि लडेर घाइते हुनुभएका विवेकलाई शुरूमा ढाडमा समस्या भयो तर, चोट बल्झिँदै जाँदा उहाँ ह्वीलचियरको सहारामा हिड्नुपर्ने भयो ।
नेपाली सेनाबाट हाल अवकाश हुनुभएका विवेकले २०७३ पछि बास्केटबल खेल्न थालेको बताउनुहुन्छ । नियमित खेल हुने भए खेललाई सुधार गर्दै अघि बढ्न सकिने भन्दै जिल्लामा पहिलो पटक भएको प्रतियोगिताले आफूहरू जस्ता खेलाडीलाई हौसल्ला प्रदान गरेको बताउनुभयो ।
‘शरीरले साथ नदिए पनि मनले खेल्न चाहन्छ । यसरी खेल्न पाउँदा अझ धेरै ऊर्जा थपिन्छ । आत्मविश्वास भरिएर आउँछ’, उहाँले भन्नुभयो,‘ह्वीलचियर बास्केटबल प्रतियोगिता जस्तै अन्य प्रतियोगिताहरू पनि हुन आवश्यक छ ।’
घोराही उपमहानगरपालिका–१५ निवासी दण्ड रोका मगरलाई पनि स्पाइनल कर्डको समस्या छ । उहाँलाई चोटकै कारण डाढको नशाले काम गर्न छाडेपछि अहिले ह्वीलचियरको सहारामा हिँडडुल गर्नुहुन्छ । दाङको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रदेशस्तरीय प्रतियोगिता खेल्न पाउँदा बेल्लै उत्साह थपिएको बताउनुभयो ।
बास्केटबलमा अपाङ्गता भएकाहरूले खेल्ने र सपाङ्गहरूले खेल्ने नियम उस्तै हुन्छ । तर, अपाङ्गता भएकाहरूलाई बल लिएर अघि बढ्न धेरै नै कठिनाइ हुने गर्छ । ह्वीलचियर ठोक्किएर चोट पटक लाग्न सक्ने खतराबाट जोगिँदै खेल्नुपर्ने अवस्था भएको उहाँ बताउनुहुन्छ ।
अपाङ्गता भएका खेलाडीहरूको क्षमता बाहिर ल्याउनका लागि खेलकुद परिषदले पहिलो पटक ह्वीलचियर बास्केटबल प्रतियोगिताको सुरुवात गरेको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम बताउनुहुन्छ । उहाँले अपाङ्गतामैत्री संरचना र पूर्वाधार नहुँदा समस्या भोग्नु पर्ने अवस्था रहेको भन्दै खेलकुदका प्रतियोगिताहरू गर्न पनि चुनौती रहेको बताउनुभयो ।
फरक क्षमता भएकाहरूका लागि केही गरौँ भनेर पहिलो चरणमा काम गरेको बताउँदै उहाँले प्रदेशस्तरीय ह्वील चियर प्रतियोगिताबाट खेलकुद परिषदलाई यस क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताउनुभयो ।
लुम्बिनी प्रदेश खेलकुद परिषदले दाङको घोराहीस्थित गुरुकुल एकेडेमीमा आयोजना गरेको प्रदेशस्तरीय ह्वीलचियर प्रतियोगितामा बाँकेको टिम प्रथम भएको थियो । बाँकेले दाङलाई ३१–१० अङ्कले हराउँदै विजेता बन्यो ।
यसअघि बाँकेले नवलपरासीलाई र दाङले कपिलबस्तुलाई हराएका थिए । प्रतियोगितामा दाङसहित बाँके, कपिलबस्तु र नवलपरासी पश्चिम जिल्लाका अपाङ्गता भएका खेलाडीको सहभागिता रहेको थियो ।
विजेता बाँकेले नगद पचास हजारसहित शिल्ड प्राप्त गर्दा उपविजेता बनेको दाङले नगद ३० हजार रुपियाँसहित शिल्ड प्राप्त गरेको थियो । प्रतियोगितामा बाँकेका हिमराज बुढा मगर उत्कृष्ट खेलाडी हुनुभएको थियो ।