चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ४ गते । ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मिहिनेत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
चियाबाट राम्रो आम्दानीको सम्भावना देखेपछि पछिल्लो समय यहाँका किसानले खेती लगाउन सुरु गरेका हुन् । केही वर्षअघि परीक्षणका रूपमा लगाएको चिया खेती सफल भएपछि किसानले व्यावसायिक खेती नै सुरु गरेका छन् । किसानले लगाएको चिया खेतीबाट अहिले धमाधम उत्पादन हुन थालेको छ।
जिल्लाका सीमित किसानले चिया खेती सुरु गरेका र किसानले लगाएको चिया खेतीबाट हाल धमाधम उत्पादन भइरहेको छ । आफूले लगाएको खेती अर्थात बगैँचाबाट उत्पादन हुन थालेको चिया भने बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । जिल्लामा चिया खेती सुरु गर्नेमा हाल सदरमुकाम फुङ्लिङ बजारमा बसोवास गर्दै आउनुभएका फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका वेदनिधि पौडेल पनि एक हुनुहुन्छ ।
पौडेलले फुङ्लिङ नगरपालिकाकै वडा १० फुरुम्बुको गढीडाँडा क्षेत्रमा निजी जग्गा र व्यक्तिगत खर्चमा चिया खेती लगाउनुभएको छ । करिब ८५ रोपनी क्षेत्रफल बराबरको जग्गामा लगाएको चिया खेतीबाट अहिले उत्पादन सुरु भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार चियाको बगैँचा (बगान) पनि बढ्दै गएको र उत्पादन पनि धमाधम हुन थालेको छ ।
हाल एक चरणको टिपाइबाट ५० देखि ७५ किलोग्रामसम्म चिया निस्किन थालेको उहाँले जानकारी दिनुभयो । मौसमअनुसार बर्खामा महिनैपिच्छे र हिउँद याममा दुई-अढाइ महिनाको अन्तरालमा चिया टिपाइ हुने गरेको उहाँले बताउनुभयो । चिया बगैँचा हुर्कँदै गएसँगै उत्पादन पनि बढ्ने क्रममा रहेको, तर अहिले उत्पादन हुँदै आएको चिया बिक्री नभएको उहाँको भनाइ छ ।
उत्पादित चिया बिक्री नभएपछि यतिकै थन्क्याएर राख्नुपरेको पौडेलले बताउनुभयो । चिया बिक्रीका लागि इलाम, झापा लगायतका बजारमा पहल गर्दा पनि अहिलेसम्म सम्भव नभएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बिक्रीका लागि सम्पर्क भएका व्यापारीले चिया ठुलो परिमाणमा भएमा मात्र खरिद गर्ने बताउने गरेका छन् । व्यापारीले भने अनुसारको परिमाण नभएपछि चिया घर कोठामा थन्क्याएर राख्नुपरेको उहाँले बताउनुभयो । अहिले व्यक्तिगत सम्पर्कका सीमित उपभोक्ता र साथीभाइले मात्र चिया खरिद गरी उपभोग गर्दै आएका पनि उहाँले बताउनुभयो ।
मोटो परिमाणमा चिया बिक्री नभएपछि मजदुरलाई पारिश्रमिक दिनलाई नै समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । काम गर्ने मजदुरलाई दिने पारिश्रमिक लगायतमा भएको समस्यासँगै हाल उत्पादन हुँदै आएको चिया बिक्री नभएर लामो समयसम्म थन्क्याउनुपर्दा सडिएर जानसक्ने भएकाले थप चिन्तित बनाएको उहाँको भनाइ छ । उहाँले चिया बिक्री तथा बजार व्यवस्थापनका लागि सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।
स्थानीय, प्रदेश र सङ्घ तीनवटै सरकारले चिया खेतीमा संलग्न साना किसान तथा उद्यमीका लागि आधारभूत सहयोगको योजना ल्याउन पनि उहाँले माग गर्नुभयो । चिया किसानका लागि बजारको व्यवस्थापन, चिया प्रशोधन गर्ने प्रविधि तथा दक्ष जनशक्ति उत्पादनका लागि तालिमको आवश्यक रहेको उहाँले बताउनुभयो ।
किसानलाई प्रोत्साहित गर्नेगरी तीनै तहका सरकारले योजना ल्याए अर्थात सहयोग नगरेमा चिया खेती गर्न चाहने किसानको लगानी डुब्ने र उनीहरूमा निरासा छाउनुका साथै पेसाबाट पलायन हुनुपर्ने स्थिति आउनसक्ने पौडलको भनाइ छ । उहाँले आफूले गर्दै आएको चिया खेतीका लागि हालसम्म तीनवटै तहका सरकारको कुनै सहयोग नभएको पनि बताउनुभयो । व्यक्तिगत लगानीबाटै चिया खेती सुरु गरेको र हाल त्रिपल बि अर्गानिक चिया उद्योग दर्ता गरी विषादीरहित अर्गानिक चिया उत्पादन गरिरहेको उहाँले बताउनुभयो।