• २६ वैशाख २०८२, शुक्रबार

गिट्टी नकुटे चुनमतीको चुलोमा बल्दैन आगो

blog

गिट्टी कुट्दै चुनमती शाही । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), वैशाख २६ गते । मुगु छायानाथ रारा नगरपालिका–७, पिनागाउँका चुनमती शाहीको घरखर्च गिट्टी कुटेर चलिरहेको छ । 

उहाँको घर मुगु भए पनि जुम्ला चन्दननाथ नगरपालिका–४, मालाभिडको सडकमा गिट्टी कुटेर घरखर्च चलाई रहनुभएको छ । वैशाखको चर्को गर्मीमा चुनमतीको शरीर पसिनाले भिजेको हुन्छ । अनुहार धुलाम्मे हुनुका साथै ओठमुख सुकेका हुन्छन् । गिट्टी कुटेरै उहाँको हत्केलामा ठेलासमेत बसेका छन् । दायाँ हातमा हथौडा र बायाँमा शाहीको ढुङ्गा हुन्छ । च्यातिएका पन्जा लगाएर उहाँ गिट्टी कुट्ने गर्नुहुन्छ ।

तर भनेको बेला ‘गिट्टी बिक्री हुँदैन । कोहीनजिक आउँदा उहाँलाई ‘गिट्टी किन्न आएको हो कि ? भन्ने लाग्छ तर ग्राहक नभएको थाहा पाएपछि उहाँ निराश बन्नुहुन्छ । गिट्टीको थुप्रो हेर्दै लामो सास फेर्नु हुन्छ । दुई वर्षअघि श्रीमान् गोरखराज शाही जेल पर्नुभयो । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुगाउँमा सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा उहाँ जेलमा हुनुहुन्छ । 

श्रीमान् जेलमा परेपछि ३५ वर्षीय चुनमतीको दैनिकी गिट्टी कुटेर बित्ने गरेको छ । गिट्टी नकुटे उहाँको चुलो बल्दैन । गत भदौदेखि उहाँ जुम्लाको चन्दननाथ नगरपालिका–४, सिङ्गाचौरमा अर्काको घरमा भाडामा बस्नुहुन्छ । गाउँमा हुँदा उहाँलाई केही कमी थिएन । घर थियो, अन्न बिक्री हुन्थ्यो, छोराछोरी स्कुल जान्थे तर श्रीमान् जेल परेपछि सबै सपना चकनाचुर भएको उहाँले पिडा सुनाउनुभयो । नौ महिनादेखि उहाँ तीन जनाको परिवारसहित जुम्लामा बस्दै आउनुभएको छ । 

उहाँले भन्नुभयो, “मेरो छोरा लक्की पाँच वर्षको छ, छोरी खुसी ११ वर्षकी छिन् । स्कुल जान पाएका छैनन् । मलाई ढुङ्गा ल्याउन सघाउँछन् । अरूका छोराछोरी अक्षर चिन्छन्, मेरा ढुङ्गा गन्छन् ।” उहाँले थप्नुभयो, “शरीर कमजोर छ, ज्यान पनि सन्चो छैन । गिट्टी कुट्न खोज्छु तर सकिँदैन । भाग्य फुटेपछि गिट्टी पनि फुट्दैन ।” 

साना छोराछोरीको खर्च जुटाउने जिम्मा उहाँकै काँधमा छ । धेरै गिट्टी कुट्न नसक्दा छाक टार्न चुनमतीलाई मुस्किल छ । जुम्लामा गिट्टी प्रतिट्याक्टर चार हजारमा बिक्री हुन्छ ।