• ४ फागुन २०८१, आइतबार

एक सय २० दिनमा सकियो बलिदानको सुटिङ

blog

सन्तोष सुवेदी
कास्की, फागुन ३ गते ।
सुटिङ सुरु नहुँदै निकै अपेक्षाका साथ हेरिएको फिल्म ‘बलिदान’ को छायाङ्कन सकिएको छ । सन्तोष सेनद्वारा निर्देशित फिल्म चार महिनाको अवधिमा छायाङ्कन सकिएको छ । छायाङ्कन सकिएको जानकारी दिँदै निर्देशक सेनले महान चलचित्र बनाउन कुनै कम्परमाइज नगरेको उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘‘बलिदान निर्माणका विभिन्न प्रकरण छिचोल्दै जाने क्रममा हामीले यसलाई ‘महान चलचित्र’ बनाउने कुरामा कतै पनि कम्परमाइज गरेनौं । कथाको सृजना सोचेभन्दा राम्रो गयौं, कलाकार, प्राविधिक र प्रविधि छनाेटमा सोचेभन्दा राम्रो गर्‍याैँ। अहिले चार महिनाको लामो कठिन परिस्थितिसँग जुध्दै दिनरात रगत पसिना बगाएर सोचेभन्दा १०० गुणा राम्रो गर्दै यसको छायाङ्कनको चरण पार गरेका छौँ । आगामी दिनका सम्पादनका कार्यमा पनि कुनै कम्परमाइज हुने छैन ।’’

फिल्मको अन्तिम दृश्य मोरङको हसिना सिमसार क्षेत्रमा खिचिएको छ । सेनका अनुसार फिल्म केही दिनमै पोस्ट प्रोडक्सनको काम सुरु हुनेछ । फिल्ममा ‘१२ गाउँ’ बाट डेब्यू गरेको समीर भट्ट शीर्ष भूमिका देखिनुभएको छ ।

‘बलिदान’ मा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामले एक्सन दृश्य कोरियोग्राफी गर्नुभएको छ । फिल्मको लागत सात करोड पुगेको चर्चा सुनिएको छ । फिल्मको प्रदर्शन मिति भने टुङ्गो लगाइसकेको छैन ।  केही हप्ताभित्रमा टिजरमार्फत फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमले गरेको छ ।