• १ फागुन २०८१, बिहिबार

गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति

blog

कायरो, फागुन १ गते । यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका प्यालेस्टिनी स्रोतहरूले बिहीबार जानकारी दिएका छन् ।

“प्रगति भएको छ”, एक स्रोतले एएफपीलाई मध्यस्थकर्ताहरूले इजरायलबाट ‘आजै बिहानदेखि मानवीय प्रोटोकल लागु गर्ने वाचा’ प्राप्त गरेको उल्लेख गर्दै भन्यो ।

“हमासले इजिप्टका अधिकारीहरूलाई... शनिबार इजरायलले आफ्नो प्रतिबद्धता पूरा गर्ने बित्तिकै समयमै छैटौँ कैदी आदानप्रदान गर्न आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ”, अर्को स्रोतले भन्यो ।

मध्यस्थकर्ताहरूले इजरायलको अन्तिम स्वीकृति पुष्टि गरेपछि ‘पूर्वनिर्मित एकाइहरू, पालहरू, इन्धन, भारी उपकरण, औषधि, अस्पतालहरू मर्मतका सामग्रीहरू र मानवीय प्रोटोकलसँग सम्बन्धित सबै कुरा’ क्षेत्रभित्र प्रवेश गर्न सक्ने पहिलो स्रोतले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकलाई रिहा नगरे ‘नरक’ खुल्ने चेतावनी दिएपछि नाजुक युद्धविराम हालैका दिनहरूमा तनावग्रस्त बनेको छ ।

ती टिप्पणीहरू पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार मध्याह्नसम्म बन्धकहरू फिर्ता नगरे उहाँको सेनाले गाजामा ‘तीव्र लडाइँ’ पुनः सुरु गर्ने बताउनुभयो । उहाँले सबै बन्दीहरूको कुरा गरेको हो वा होइन स्पष्ट गर्नुभएन ।

रक्षामन्त्री इजरायल काट्जले बुधबार युद्ध पुनः सुरु भएमा यो ‘तीव्रतामा फरक हुनेछ’ र ‘हमासको पराजय बिना समाप्त हुनेछैन’ भनी चेतावनी दिनुभयो । रासस/एएफपी