• १ फागुन २०८१, बिहिबार

निरोधात्मक उपचार जरुरी : स्वास्थ्यमन्त्री पौडेल

blog

‘नसर्ने रोगहरुको पहिचानका लागि एकमहिने अभियान’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्धको निरोधात्मक अभियान सबै नेपालीसम्म लैजानुपर्नेमा जोड दिनुभएको छ । बिहीबार पोखरामा आयोजित ‘नसर्ने रोगहरुको पहिचानका लागि एकमहिने अभियान’ उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुसँग मिलेर सुरु गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न उहाँले सबैमा आग्रह गर्नुभयो । यसपालि फागुन महिनाभर चलाइने अभियान अब हरेक वर्ष फागुनमा आयोजना गरिने उहाँको भनाइ छ । अब निरोधात्मक अभियान प्रभावकारी नबनाए देशले उपचार सेवालाई धान्न नसक्ने प्रष्ट पार्नुभयो । “अहिले नसर्ने रोगहरु यसरी बढेका छन् कि अब निरोधात्मक उपचारलाई रणनीतिका रुपमा अघि नबढाउने हो भने उपचारात्मक सेवालाई धान्न सक्ने अवस्था रहँदैन,” उहाँले भन्नुभयो ।

मन्त्री पौडेलले रक्तचाप जाँच र मधुमेह जाँचका लागि रगत दिएर अभियान सुरुआत गर्नुभएको छ । मधुमेह, रक्तचाप र मृर्गाैलाका जाँचहरु बेला बेलामा गरी रोगबारे जानकारी पाएपछि उपचार गर्न र रोग लाग्न नदिन सहयोग पुग्ने उहाँको भनाइ छ । ३० वर्षभन्दा माथिका एक करोड ३० लाख नेपालीलाई यो अभियानमा सहभागी गराउने लक्ष्य उहाँले सुनाउनुभयो ।

नेपालमा हुने मृत्युको तीन चौथाइ कारण नसर्ने रोग भएको टिप्पणी गर्दै उहाँले सेवा लिन आउनेहरुलाई स्रोत, साधन भ्याएसम्म व्यवस्थित रुपमा सेवा प्रवाह गर्न आग्रहसमेत गर्नुभएको छ । मन्त्री पौडेलले पोखरा २१ को कृष्ति स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गर्नुभएको छ । 

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिना, पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराललगायतले अभियानको आवश्यकताबारे बोल्नुभएको थियो । 

बिहीबारै मन्त्री पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको जनसङ्ख्या, बसाइसराइ र विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा पनि सहभागी हुनुभयो ।