काठमाडौँ, फागुन १ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा. चार्ल्स एस याङले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा दिनुभएको छ।
सुनहक शान्ति पुरस्कार फाउन्डेसनका अध्यक्षसमेत रहनुभएका याङले नेपाल र कोरियको कूटनीतिक सम्बन्ध भएको ५० औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रूपमा उपस्थित भई सम्बोधनसमेतका लागि आग्रह गर्नुभएको हो। प्रधानमन्त्रीसँगको भेटमा उहाँले दुई कोरियाको शान्तिपूर्ण पुनःमिलनका लागि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो।
भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं सङ्घीय सांसद एकनाथ ढकालसमेत सहभागी हुनुहुन्थ्यो।