लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन १ गते । प्रदेशका स्वास्थ्य तथा जनासङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचानको लागि एक महिने अभियानको शुभारम्भ गर्नुभएको छ ।
"समयमै नसर्ने रागको जाँच गराऔं, स्वास्थ्य र दिर्घ जीवन बचाऔं" भन्ने मुल नाराका साथ बिहीबार जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालाको प्रांगाणमा नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सिंहले एक महिने विशेष अभियानको शुभारम्भ गर्नुभएको हो ।
मन्त्री सिंहका अनुसार यो अभियान मधेश मात्र नभई सातै प्रदेशमा एकसाथ सञ्चालन भइरहेको छ । "रोग लागेपछि उपचार गर्नुको साटो रोग लाग्न नदिन सचेतना आवश्यक छ," उहाँले भन्नुभयो, "यस अभियानले जनतालाई स्वास्थ्य जोखिमबारे जानकारी दिनुका साथै रोग पहिचान तथा रोकथाममा मद्दत गर्नेछ ।"
स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवणकुमार नायकले नसर्ने रोगको समयमै पहिचान गरी उपचार प्रक्रियामा सहभागी हुन आम नागरिकलाई आग्रह गर्नुभएको छ । एक महिने अभियानको सन्दर्भमा निर्देशक नायकले भन्नुभयो, "जनतालाई प्रारम्भिक चरणमै रोग पहिचान गराई आवश्यक उपचार उपलब्ध गराउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।" उहाँले यस अभियानले नागरिकलाई नसर्ने रोगहरूबारे सचेत बनाउँदै स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रियामा सहभागी गराउने बताउनुभयो ।
मधेश प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले सञ्चालन गरेको सो अभियानबाट नसर्ने रोगहरूबारे आम जनतामा जनचेतना वृद्धि हुनुका साथै उनीहरूलाई उपचार प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ । एक महिनासम्म सञ्चालन हुने यस अभियानले प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछ भने प्रदेशका १३६ वटै पालिकामा सञ्चालन भइरहेको अभियानले समुदायस्तरमै रोग पहिचान र रोकथामका उपायहरूबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।