नारद कोहार
तौलिहवा(कपिलबस्तु), फागुन १ गते । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे. क्वा कपिलवस्तुको सहकार्यमा भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार प्रशिक्षण कार्यक्रम कानुन कार्यान्वयन निकायहरूलाई आपत्कालीन अवस्थामा उचित रूपमा भिड व्यवस्थापन गर्न आवश्यक सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । अभ्यासको क्रममा सुरक्षाकर्मीहरूले सम्भावित दङ्गा, अशान्ति तथा विरोध प्रदर्शनलाई नियन्त्रण गर्न आवश्यक रणनीति, आधुनिक प्रविधिको प्रयोग, संवादद्वारा स्थिति नियन्त्रण, र बल प्रयोगको न्यूनतम उपायहरूबारे अभ्यास गरिएको उहाँको भनाइ छ ।
कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले यस्ता तालिमहरूले शान्ति सुरक्षा कायम गर्न मद्दत पुर्याउने बताउनुभयो । सुरक्षाकर्मीहरूलाई अनुशासनपूर्वक र जनमैत्री व्यवहारका साथ कानूनको परिधिभित्र रहेर भिड व्यवस्थापन गर्न उहाँले निर्देशन दिनुभएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरञ्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डे लगायतको सहभागिता रहेको थियो । संयुक्त अभ्यासले सुरक्षाकर्मीहरूको समन्वय क्षमता अभिवृद्धि गर्नुका साथै आकस्मिक परिस्थितिहरू सामना गर्न आवश्यक तयारीलाई बल पुर्याउने विश्वास गरिएको छ ।