गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ३० गते । सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन काठमाडौँ, नेपालमा गर्नका लागि प्रस्ताव भएको छ । भारतको नयाँदिल्लीमा आयोजित विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को श्रीलङ्काको कोलम्बोमा र त्यसपछि नेपालमा गर्ने सहमति जनाएको हो ।
नेपालमा त्यस्तो सम्मेलन गर्दा पुस्तकालय सूचना विज्ञानको प्रगति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने जनाइएको छ ।
२०२५ को सम्मेलन ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयहरूको भूमिकालाई सुदृढ बनाउन सफल भएको नेपाल पुस्तकालय सङ्घले जनाएको छ ।
शिखर सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यका नवप्रवर्तनका लागि बलियो जग बसालेको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनमा नेपालका तर्फबाट नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदी र सञ्जीव कुमार चौधरीले पुस्तकालय र सांस्कृतिक सम्पदा संरक्षण, ई स्रोत र प्रयोगकर्ता केन्द्रित उपयोग विश्लेषण विषयमा डा. लीला न्याइच्याई, सागर सुवेदी र विजय शर्माले र पोखरा विश्वविद्यालयमा विश्वविद्यालय पुस्तकालय र प्रविधि विषयमा मीनकुमारी डल्लाकोटी र अनिता भण्डारीले तथा सार्क पुस्तकालय एकीकरण र रेफसाला विषयमा रेश्मा डङ्गोलले प्रस्तुति दिनुभएको थियो ।