काठमाडौँ उपत्यका धार्मिक तथा सांस्कृतिक सम्पदाको धरोहर नै हो । मन्दिरैमन्दिरको सहर भनेर चिनिने यो उपत्यका पवित्र बागमती नदी सभ्यताले पनि सुपरिचित छ । यहाँका पवित्र नदी बागमती, विष्णुमती, रुद्रमती आदि तथा कतिपय खोलासमेत आस्थाका प्रतीक हुन् । बागमतीमा स्नान गरेर पशुपतिको दर्शन गर्नु देशविदेशका हरेक हिन्दुको जीवनको लक्ष्य हुन्छ । अन्य खोला नदीको पनि आफ्नै मौलिक विशेषता छ । उपत्यकामा मानव सभ्यताका मुहानसमेत यिनै जलसम्पदा हुन् । जीवनलाई पानीसँग अलग गराउन मिल्दैन । पानीबिनाको जीवन असम्भव नै छ । विश्वका धेरै मानव सभ्यता नदी र पानीको आसपासमा मात्र सम्भव भएका छन् । मरुभूमिमा मानव बसोबास सम्भव छैन तर मानिसले नै बिस्तारै पानीका प्राकृतिक स्रोतमाथि अतिक्रमण गरिरहेका छन् । मानव अतिक्रमण र अव्यवस्थाले नदी सभ्यताको चिरहरण भएको अति कुरूप उदाहरण काठमाडौँ उपत्यका नै भएको छ भन्नुपर्दा प्रत्येक पर्यावरणप्रेमी नेपालीको चित्त दुख्छ तर पनि यथार्थ यही हो । केही दशकअघिसम्म नुहाउने तथा पिउने पानीको स्रोतसमेत रहेका यहाँका नदीनाला सफाइमा ठुलो धनराशि खर्च भए पनि प्रभावकारी व्यवस्थापन सम्भव हुन सकेको छैन ।
उपत्यकाका नदी फोहोर हुन थालेको २०४० को दशकदेखि नै हो । त्यसबेलासम्म बागमती, विष्णुमती, मनोहरा, रुद्रमती अर्थात् धोबीखोला, टुकुचा, चखुँचा, यज्ञमती, हनुमन्ते, गोदावरी, महादेवखोला सफा नै थिए । मानिस नुहाउन जान्थे । घरेलु उपयोगमा पानी प्रयोग गर्थे । कृषिकर्मलाई पनि यी पानीको स्रोतको राम्रै सदुपयोग भएको थियो । अहिले उपत्यकाभित्रका कुनै पनि खोला तथा नदीमा नुहाउनयोग्य पानी छैन । उपत्यकाका अधिकांश खोला तथा नदीमा ढल मिलाइएको छ । बर्खायाममा नदी तथा खोलामा धमिलो पानी बगेको देखिए पनि सुक्खायामसँगै ती नदी तथा खोलामा गन्धे धमिलो सीमित पानी मात्र हुन्छ । यसले उपत्यकाभित्रका नदी तथा खोलाको पूरै जलचव्रm समाप्त भएको छ । यदाकदा हिलेमाछा पाए पनि अन्य जलचर विचरणयोग्य पानी छैन । हेर्दाहेर्दै उपत्यकाभित्रका नदी तथा खोलाको अवस्था नाजुक भएकोप्रति जिम्मेवार तथा सम्बन्धित संस्था संवेदनशील हुन नसक्नु अझ विडम्बना भएको छ ।
काठमाडौँ उपत्यकाका नदी र खोलाको सफाइ र सौन्दर्यका निम्ति प्रयासै नभएको भने होइन । बागमती सभ्यता एकीकृत विकास समितिले ठुलो धनराशि खर्च गरिसकेको छ । उपत्यका स्थानीय तहबाट अलग्गै बजेट ढल निर्माण तथा नदी सफाइमा खर्च भएको छ । त्यो सबै स्रोत एकै ठाउँमा राख्ने हो भने हिसाबै गर्न सम्भव छैन । बागमती सरसफाइ अभियान २०७० सालमा सुरु भएको हो । जनस्तरबाट समेत सफाइको अभियान राम्रै चले पनि अहिले अलि सुस्त भएको देखिन्छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मात्र अहिलेसम्म नदी व्यवस्थापनमा १३ अर्ब रुपियाँ लगानी गरेको छ । सफाइसँगै सौन्दर्यीकरण, ढल व्यवस्थापनका लागि ड्रेन निर्माण, फोहोर पानी प्रशोधन केन्द्र निर्माणसहितका काम अगाडि बढाएको हो । अवस्थामा केही सुधार पनि भएको छ तर उपत्यकाका नदी तथा खोलामा सलल बज्ने कञ्चन पानी भने सपना नै भएको छ ।
विश्वका धेरै सहर नदी तथा खोलाकै आसपास बसेका छन् । नदी तथा खोला मानव सभ्यताका मुहान नै हुन् । पानीमा फोहोर गर्नु पाप हो भन्ने पुर्खाकै भनाइ थियो । धारा, पँधेरा, कुवा, पोखरी, खोला र नदी सफा राख्नु पर्छ भन्ने सनातन मान्यता आधुनिकीकरणसँगै किन खण्डित भयो ? विश्वका कतिपय सहरमा नदी फोहोर भए पनि यताका दशकमा सफाइमा सफलता हासिल सम्भव भएका छन् । नदीमा सिधै ढल नमिसाउने, ढल प्रशोधन गरेर मात्र पानी नदी तथा खोलामा पठाउने हो भने काठमाडौँ उपत्यकाभित्रका पानीका स्रोत पनि सफा हुन सक्ने छन् । बढ्दो सहरीकरणले चुनौती थपिए पनि उपत्यकाका नदी तथा खोला सफा गर्नु तीन तहकै सरकारको पहिलो जिम्मेवारी हो । एकअर्का निकायलाई दोष थोपरेर उपत्यकाका नदी तथा खोला सफा हुन सक्ने छैनन् । तीन तहकै सरकारबिच यी नदी सफा राख्ने साझा लक्ष्य हुनु पर्छ । घरबाट निस्कने पानी तथा ढल प्रशोधन गर्ने केही प्रयास भए पनि पूरै सार्थक हुन सकेको छैन । सम्बद्ध निकाय तथा तीन तहकै सरकारबिच बागमती सभ्यता पुरानै पवित्र स्वरूपमा फर्काउनु मूल जिम्मेवारी हो ।