• १९ चैत २०८१, मङ्गलबार

डा. अवनिभूषणको ‘मान्छेको मुटु’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायद्वारा लिखित ‘मान्छेको मुटु’ आइतबार लोकार्पण गरिएको छ । नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेल तथा नेपाल हृदयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो । 

कार्यक्रममा प्राडा गजुरेलले पुस्तकमा मुटुको डाक्टर भएर मान्छेको मुटुलाई साहित्यमार्फत प्रस्फुटन गर्ने काम उत्कृष्ट भएको बताउनुभयो । उहाँले पुस्तकको नाम सुन्दा स्वास्थ्यका विषय मात्रै लागे पनि वास्तवमा समग्र स्वास्थ्य तथा साहित्यमा मान्छेको मुटु हुने विषय पुस्तकले दिएको बताउनुभयो । “म एउटा मुटुको डाक्टर, हजारौँको मुटु खोलेको छु तर मन र मुटु कहाँ हुन्छ भन्ने कतै भेटेको छैन”, डा. गजुरेलले भन्नुभयो, “पुस्तकबाट धेरै कुरा सिक्ने अवसर पाइन्छ ।”

प्रतिष्ठानका अध्यक्ष डा. सुवालले पुस्तक सामान्य मानिसदेखि मेडिकल विद्यार्थीलाई समेत उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनुसन्धानको तथ्य, स्वास्थ्य नीति, स्वास्थ्यका जल्दाबल्दा समस्यासमेत पुस्तकमा समेटिएको बताउनुभयो । लेखक डा. उपाध्यायले पुस्तकमा बाथ मुटुरोग लाग्दा श्रीमान्ले श्रीमतीलाई छोडेर अर्को विवाह गरेको प्रसङ्ग पनि समेटिएको बताउनुभयो । पुस्तकमा अस्पतालबाट रेफर गर्ने प्रवृत्तिलाई झकझक्याइएको छ । 

डा. उपाध्यायले बिरामीले औषधी किनेर नखाएपछि हृयदयाघात भएर मृत्यु भएको विषयलाई पनि पुस्तकमा उल्लेख गरेको बताउनुभयो । उहाँले पुस्तकमा भावनात्मक, आध्यात्मिक कुरा उल्लेख गरिएको जानकारी दिँदै मन र मनबिचमा सम्बन्ध हुने विषय पनि पुस्तकमा समेटिएको बताउनुभयो ।