सन्तोष दहित
दाङ, (दंगीशरण) माघ २६ गते । देशभरका बरघरहरू दाङको दङ्गीरशण ३, चखौरामा भेला हुँदैछन् । थारू समुदायको प्रथा जनित संस्थाको रूपमा मानिँदै आएका बरघरहरू भेला हुन लागिएको मटावाँ, बरघर, भलमन्सा महासङ्घका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।
थारू समुदायको परम्परागतदेखि मान्दै आएको प्रथाजनित संस्थालाई कानुनी मान्यता दिलाउनका लागि राज्यलाई दबाब स्वरूप भेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । ‘‘हाम्रो यो भेलाको उद्देश्य राष्ट्रिय सम्मेलन पनि हो,’’ महासङ्घका अध्यक्ष चौधरीले भन्नुभयो, ‘‘योसँगै हाम्रो प्रथाजनित संस्थालाई राज्यबाट कानुनी मान्यता दिलाउनका लागि दबाबको सिर्जना गर्ने पनि हो ।’’
उहाँको अनुसार भेलामा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रूपन्देही, नवलपरासी, कपिलबस्तु जिल्लाहरूको एक हजारभन्दा बढी मटावा/बरघर/लमन्सा/ककन्डर्वाहरूको उपस्थिति रहने छ । उक्ता भेलाको सम्बोधान तथा उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुने अध्यक्ष चौधरीले बताउनुभयो ।
दुई दिनसम्म चल्ने भेलामा बरघरलाई अझ प्रभावकारी बनाउनका लागि दीर्घकालीन योजना, भावि रणनीति र बरघर ऐन, कानुन निर्माणलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । त्यस्तै, भेलाबाट महासङ्घको नयाँ नेतृत्व समेत चयन गरिने उहाँले जानकारी दिनुभयो ।
गाउँको विकासदेखि सामाजिक न्यायलगायत कामको नेतृत्व गर्दै आएका व्यक्तिलाई थारू समुादयले मटावाँ/बरघर/भल्मन्सा/ककन्डर्वा भन्ने गर्दछन् । कतै मटावाँ, कतै बरघर त कतै भलभन्सा, ककन्डर्वा नाम दिइने गरेको छ । दाङमा मटावाँ भनिन्छ भने, बाँके र बर्दियामा बरघर, कैलाली र कन्चनपुरमा भलमन्सा भनिन्छ । त्यस्तै सुर्खेत र कपिलवस्तु, दाङको देउखुरीमा ककन्डर्वा भन्ने गर्दछन् । यी मटावाँ/बरघर/भल्मन्सा/ककन्डर्वा जे भनिए पनि ठाउँको प्रमुख व्यक्तिलाई सम्बोधन गरिने सम्मान हो ।
थारू समुदायले हरेक वर्ष माघीमा मटावाँ/बरघर/भल्मन्सा/ककन्डर्वा चुन्ने गर्दछन् । सोही समयमा बितेको वर्ष दिनको कामको समीक्षा र आगामी वर्षको कार्यायोजना बनाउने गरेको महासङ्का अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।