हरिप्रसाद कोइराला
उर्लाबारी ,असार ६ गते । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार पाँच सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कटहरी गाउँपालिका मोरङका १७ पालिकामध्ये पहिलो पालिका हो ।
दोस्रो गाउँसभा तथा सातौं अधिवेशनको अवसरमा पालिकाका उपाध्यक्ष सीतादेवी राजवंशीले बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख दुई हजार पाँच सय रुपियाँ र पूँजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रुपियाँ विनियोजन गरिएको छ । बजेटका आय स्रोतहरूमा आन्तरिक आम्दानीबाट नौ करोड ८० लाख ७८ हजार ४८५ रुपियाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ८५ लाख ६ हजार रुपियाँ र राजस्व बाँडफाँटबाट १३ करोड २५ लाख ६० हजार १५ रुपियाँ आउने अनुमान गरिएको छ ।
उपाध्यक्ष राजवंशीका अनुसार यो बजेट पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरिएको हो । कृषिमा दुई करोड २८ लाख ६० हजार रुपियाँ छुट्याइएको छ । जसले कृषकहरूको जीवनस्तर उकास्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सामाजिक सुरक्षा तथा कल्याण क्षेत्रमा ६ करोड ४९ लाख ४५ हजार ५ सय रुपियाँ छुट्याइएको छ । जसले स्थानीय नागरिकहरूका सुरक्षा कार्यक्रमहरूलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
पूर्वाधार क्षेत्रमा सबैभन्दा ठुलो बजेट विनियोजन गरिएको छ । सडक, पुल, भवन लगायतका विकास निर्माणका लागि १७ करोड ७३ लाख पाँच हजार रुपियाँ छुट्याइएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा तिन करोड २८ लाख र सेवा प्रवाह तथा सुशासनमा दुई करोड ७२ लाख रुपियाँको व्यवस्था गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष राजवंशीले पालिकाको आवश्यकता, आकाङ्क्षा र प्राथमिकतालाई ध्यानमा राख्दै यो बजेट तयार पारिएको बताउनुभयो । उहाँले यो बजेटले गाउँपालिकाको समग्र विकासमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, गाउँपालिकाले नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ । अध्यक्ष देवराज चौधरीद्वारा प्रस्तुत १९२ बुँदे नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणदेखि मानव संशाधन विकाससम्मका विषय समेटिएको छ । अध्यक्ष चौधरीका अनुसार यो कार्यक्रमले गाउँपालिकाको विकासलाई नयाँ दिशा दिने छ ।
गाउँसभा र अधिवेशनको अवसरमा पालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक र कर्मचारीहरूलाई सम्मानसमेत गरेको छ । शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेल, आन्तरिक लेखा परीक्षक कृष्णप्रसाद आचार्य, राजस्व शाखाकी कर्मचारी गीता गुरागाई, असिस्टेन्ट सब–इन्जिनियर प्रकाश पाण्डेय, वडा नम्बर १ का वडासचिव पुष्पबहादुर निरौला र कार्यालय सहयोगी बिरबल कामतलाई जनही ११ रुपियाँ नगदसहित सम्मान गरिएको छ ।