• ६ असार २०८२, शुक्रबार

मलमला क्षेत्र चुरे जैविक पार्क बन्दै

blog

बुटवल समाचारदाता

बुटवल, असार ६ गते । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा रहेको मलमला मन्दिर क्षेत्रलाई चुरे जैविक पार्क बनाउने योजना अघि बढाइएको छ । जिल्लाकै प्रमुख धार्मिक स्थलका रूपमा विकास हुँदै गरेको मलमला मन्दिर क्षेत्र वरिपरि घना जङ्गलसमेत रहेकाले चुरे जैविक पार्कको विकास गर्ने हो भने धार्मिकसँगै पर्यटकीय गन्तव्यसमेत बनाउन सकिने भएकोले चुरे जैविक पार्कका रूपमा विकास गर्ने योजना अघि बढेको हो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले मलमला मन्दिरको विस्तृत गुरुयोजना बनाएर धार्मिक तथा चुरे जैविक पार्कका रूपमा विकास गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना रहेको जानकारी दिनुभयो ।  मलमला मन्दिरमा खासगरी दसैँका नौ दिन र चैते दसैँमा ठुलो सङ्ख्यामा भक्तजन भाकल पूरा हुने विश्वासमा दर्शन गर्न आउने गर्दछन् । मलमला मन्दिर क्षेत्रको विकासका लागि सैनामैना नगरपालिकाले समेत काम गर्दै आएको छ । नगरपालिकाले एसियाली विकास बैँकको सहयोगमा दुई वर्षअघि यो क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको थियो । 

नगरपालिका उपप्रमुख वीना रानाले मलमला मन्दिर क्षेत्रको सरसफाइ, मन्दिरको व्यवस्थापन, मन्दिरसम्म पुग्ने धर्मावलम्बीलाई खानेपानीको व्यवस्थालगायत सिँढीको मर्मतको काम गरेको बताउनुभयो । त्यसअघि रूपन्देही क्षेत्र नं. ५ का पूर्वसांसद भरतकुमार शाहको पहलमा सांसद विकास कोषबाट ३० लाख र सैनामैना नगरपालिकाका तर्फबाट २० लाख गरी कुल ५० लाख रुपियाँमा मन्दिरसम्म पुग्ने पक्की बाटो निर्माण भएको थियो । 

सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले मलमला क्षेत्रलाई वरिपरिको भूगोल अनुसार जैविक पार्कका रूपमा विकास गर्ने प्रशस्त सम्भावना रहेकाले त्यसका लागि प्रदेश सरकार र सैनामैना नगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।