• २६ माघ २०८१, शनिबार

पारपाचुके (कथा)

blog

धुम्म छ मौसम । वर्तिरको पर्तिर देखिन्न भुइँकुहिरोले । उस्तै गरी बहेको छ सिरेटो । कानको लोती चिसिएर हिउँ झैँ छ । तप्प तप्प च्यादरको छानोबाट खसेको शीत सन्तेको गालामा बजारियो । शीतको चिसोले परेलीका ढकनी उघ्रिए । छानातिर एकटकले डिठ्याएपछि सन्तेले बल्ल ठम्याए ठेगाना । स्याङतान काकाको ग्वाली रहेछ । बेलुकी लुती कान्छीको पसलमा सट्क्याएका थिए दुई गिलास ठर्रा । “यति भएपछि राति जाडो हुन्न” भन्दै लर्खराएका सन्ते त्यसपछि ब्युँझेका हुन् अहिले ।

उनलाई आज उस्तो जाँगर छैन । “भोलि जसरी पनि यति सिध्याइदेऊ है रङ लगाएर, घर सर्न ढिला भइसक्यो,” हिजो साहुको वचनमा उनले “हस्” भनेर मुन्टो हल्लाएका थिए तर आज सन्तेलाई पटक्कै काममा जान मन छैन । एकातिर बहाना बनेको छ जाडो । ज्यानको जाडोसँग त उसले गएका ४३ हिउँद पौँठेजोरी खेलेकै थिए । हिजोदेखि गढेको हो ठन्डी उसको मनमा । यो ठन्डीलाई लुती कान्छीको ठर्राले नि तताएन । थाहा छैन उनलाई यो ठन्डीको गहिराइ । उनको मुटु भने एकनासले बरफ झैँ चिसिएको थियो । हिजो काम गर्दागर्दै झमक्कै भयो । रङले लत्पतिएका कपडा फेरेर बत्तिँदै थिए गाउँतिर । बाटैमा भेटिए मङ्गले । 

“ओइ सन्ते, तेरो बुढीले तँलाई डिभोर्स दियो रे हैन ?” मङ्गलेको प्रश्नले सन्तेको कन्पारो तात्तियो, “तँ मु...लाई कसले भन्यो ?” सन्तेले गाली गर्‍यो । “म आज सदरमुकाम गा’को थिएँ, तेरी बुढी त्यहीँ थिई,” मङ्गलेले भन्यो । “दिए देओस् त के भयो र ? उसले दिएर मात्रै हुन्छ ? मेरो सहमति छैन,” सन्ते थोरै सेलाए । “तँलाई के थाहा अदालतमा डिभोर्सको मुद्दा पहिल्यै दर्ता भएको रहेछ, तैँले कुनै जवाफ समयमा नदिएपछि आजदेखि अदालतले डिभोर्सको टुङ्गो लगाएछ । आजदेखि तँ र तेरो बुढी अलग भयौ ।”

मङ्गलेको कुरा सुनिसकेपछि बाटोमै थच्चिए सन्ते । चुक घोप्ट्याए झैँ थपियो अन्धकार । उनलाई कहिले डिभोर्सको मुद्दा दर्ता भयो र कहिले के जवाफ दिनुपर्ने भन्नेबारे केही थाहा थिएन । व्यवहारमा बर्सौंदेखि अलग थिए । उनी हरेक रात कार्की कान्छाको पिँढीको बेन्चमा रात कटाउँथे । आज सन्तेलाई उठ्ने जाँगर पटक्कै छैन । मामुली ४५ किलोको ज्यान आज उठाउनै भारी भएको छ । आँखाले एकतमास ग्वालीको छानातिर हेर्दै टोलाइरहे पनि मन बहकिँदै अतीतका गर्तमा पुगे ।

४० को दशकतिर हो, बहुदल आइसकेको थिएन । भित्री मधेसमा औलो निवारण कार्यक्रम सुरु भइसकेको थियो । अम्टाही पुगेर ढाकरमा नुन लिएर फर्किनेहरूले गाउँमा भने, “लु अब त मच्छडले टोकेर मरिन्न रे । मधेस जाऊँ, उतै जङ्गल फाँडेर बसौँ । कम्तीमा नुन बोक्न त दुःख हुन्न । अनि धानको भात पनि खान पाइन्छ ।” यही सुनेर हौसिएका थिए राई कान्छा । काखमा थिए सन्ते । सन्तेका दुई दिदी आमालाई सघाउने भएका थिए । सुनकोशी सुसाइरहने घमाइलो खोटाङको रुपेटार छोडेर उनीहरू गाउँलेसँग हात हल्लाउँदै झरेका थिए भित्री मधेश । सन्तेलाई धमिलो सम्झना छ आमाको ढाकरमाथि बसेर खुट्टा हल्लाउँदै चार दिनमा कटारी झरेको । पहाड घर छाड्ने बेला आमा निकै भक्कानिएकी थिइन् । “अब म उतै मर्छु होला,” मजेत्रोले आँसु पुछ्दै आमाले भनेकी थिइन्, “मेरो पितृपुर्खाहरूसँग भेट नहुने भयो ।” राई कान्छाले भनेका थिए, “हिँड्ने बेला अभासी नबोलै ।” त्यसरी मधेश झरेपछि राई कान्छाले अम्बास गाउँमा झन्डै २० बिघा वन फाँडे । वनपालेले नदिनु दुःख दियो । कहिले खसी त कहिले रक्सी ख्वाउँदै वनपालेबाट जोगिनु पर्‍यो । मधेश झरेपछि सन्तेका दुई भाइ जन्मिए । दिनभरिको थकाइले मस्त निदाइरहेको एक रातको सन्नाटा आमाको चिच्याहटले चिर्‍यो । राई कान्छाले हतारिँदै दियालो बाले । आमाले पिँडुला समाउँदै “ऐय्या आत्था...” भनिरहनुभएको थियो । “पक्कै सर्पले डसेको हुनुपर्छ,” राई कान्छाले अनुमान लगाए । त्यसपछि श्रीमतीको पेटिकोट च्याते र घुँडानेर बाँधिदिए । “यति गरेपछि विष सर्दैन । पानी नपिउनु, म धामी खोजेर ल्याउँछु,” भन्दै निस्किए राई कान्छा । 

आमालाई सहन गाह्रो भयो । भाइहरू निदाइरहेका थिए । आमा शिथिल भइसक्नुभएको थियो । शरीर चिसिन थाल्यो । झिसमिसेमा राई कान्छाले धामी ल्याए । सर्पले डसेको ठाउँमा जडीबुटी लगाइदिए । सुरु गरे झारफुक । थामिन नसकेकी उनी राई कान्छाको काखमा पल्टिएकी थिइन् । “कान्छी कान्छी...” भन्दाभन्दै कान्छीले आँखा चिम्लिइन् । 

केही महिनाको निराशा चिर्दै राई कान्छाले कान्छी भित्र्याए । त्यसपछि सुरु भयो वास्तविक दुःख सन्ते, उनका दुई दिदी र भाइहरूको । सौतेनी आमाको व्यवहारले घर घर झैँ लागेन । पखेँटा लागेका दिदीहरू गलैँचा बुन्ने बहानमा रात्रिबस चढेर काठमाडौँ भागे । भाइहरू सानै थिए । केही महिनापछि सन्ते पनि दिदीहरू पछ्याउँदै लागे राजधानी । गलैँचा बुन्न सिके तर पार लागेन । त्यही बेला भेटिए भीमसेन ठेकेदार । उनी पेन्टिङका ठेक्का लिन्थे । सन्तेलाई लगाए खाक्सी घोट्न । दुःखजिलो भोको बस्नु परेन । काम सिके । कम्तीमा सौतेनी आमाको वचन र पिटाइबाट दुर भएका थिए । 

खल्ती तात्तिनेबित्तिकै सन्ते हानिन्थे, गोपीकृष्ण त कहिले चामुण्डा हल जोरपाटी । ‘दिलवाले दुल्हनियाँ ले जाएङ्गे’, ‘रङ्गिला’, ‘सबसे बडा खिलाडी’ का कथा कण्ठस्थ थियो । ‘भोली भाली लड्की, खोली तेरी दिलकी...’ गीतमा अक्षयकुमारका डान्स स्टेप डिट्टु गर्थे । साथीहरूले “वाह क्या खत्रा यार” भनेपछि उनले पालेका थिए जुल्फी । दसैँतिहारमा आइपुग्थे गाउँ । सन्ते गाउँमा आएपछि चोकमा केटाहरू तयार हुन्थे फिल्मका कहानी सुन्न । 

पढाइलेखाइ थिएन । हिन्दी फिल्मका डाइलग भने कण्ठस्थ थियो, “तङ मत करो, तेरेको मिट्टीमा मिला दुङ्गा...।” नबुझेरै साथीहरू मुर्छा पर्थे । काठमाडौँ जानेआउने क्रम चलेकै थियो । न धेरै कमाइ, न बचत । तिहारमा गाउँमा देउसीभैलो हुन्थ्यो । पेट्रोल म्याक्स काँधमा बोकेर टेप रेकर्ड बोक्ने जमाना भर्खरै सुरु भएको थियो । टेप रेकर्डका लागि गिला ब्याट्री चार्ज गरेर ल्याउनु पथ्र्यो जेनेरेटरमा । गीतको बोल थियो, ‘आँख मारे ओ लड्की आँख मारे...।’ सन्तेको ब्रेक डान्समा सिट्ठी लाग्थ्यो ।

दानमा राखिएका हुन्थे लोकल ठर्रा । दुईतीन घरको ठर्रा घुट्क्याएपछि पुगेका थिए, रामबलेको घर । देउसी सकिने बेलामा दलानमै ढल्किए सन्ते । रामबलेकी बहिनी रमाले उठाएर लगिन् कोठामा । खाटमा पल्टिए सन्ते । सन्ते भुसुक्कै निदाए । ब्युँझिँदा एक्लै थिए खाटमा । जुरुक्क उठे । भुइँमा सुतिरहेकी थिइन् रमा । सन्ते उठेको देखेर रमा पनि ब्युँझिइन् । सन्तेलाई रक्सीले छोडेकै थिएन । रमाले उसलाई निस्किन दिइनन् । जब उनले च्याप्प समाइन् सन्तेको हात, तब उनलाई लागेको थियो करेन्ट । बढेको थियो सास । मन साटिएपछि रमा र सन्तेका प्रसङ्ग कुवा, धारा र घाँसदाउरामा एककान दुईकान फैलँदो थियो ।  जब गोठालो, मेलापात र हाटबजारमा उनीहरूको भेट हुन थाल्यो; त्यसपछि रमालाई भित्र्याए सन्तेले । उनीहरूले बनाए सानो झुपडी । हाले थाकलको छानो । घोचाले बारेर निकाले दुई कोठा । रमाले लिपेर चिल्लो बनाइन् भित्ता र चुलो । मायाको चिनो रमाको पेटमा अङ्कुराउन थाल्यो । सन्तेले खोज्न थाले पेन्टिङका काम । सहरमा झैँ कहाँ सजिलो थियो र काम पाउन । कतै पाइहाल्थे, कहिले काम नपाएर त्यसै बस्थे । रमाले दाउरा बेचेर जीविका सुरु गरिन् । 

जन्मियो छोरा । खुसीले उफ्रिए सन्ते । व्यवहारले गाँज्दै लगे पनि सन्ते पहिले झैँ स्वतन्त्र भएर साथीभाइसँग फिरन्ते हुन चाहन्थे । रमाले रोक्थिन् । त्यसपछि सुरु हुन थाल्यो नोकझोँक । चलचित्रको पर्दाका दृश्य झैँ कहाँ थियो र जिन्दगी । अनि दिन दुगुना रात चौगुनाले उनीहरूबिच फाटो सुरु भयो । झगडा चर्कियो । त्यसपछि घर फर्किन छाडे सन्ते । 

एक दिन ठुलै हिम्मत जुटाएर सन्ते फर्किएका थिए । रमाले चिर्पटले बजारिन् सँघारमै । सन्तेको टाउकोमा सात टाँका लगाउनु पर्‍यो । त्यसपछि उनले कसम खाए, नफर्किने । 

सन्तेको छोरो पनि स्कुल छाडेर काठमाडौँ गए । सहर गएर फर्किने धेरैले भनेको उनले सुनेका छन्, “सन्तेको छोरा ठ्याक्कै सन्ते जस्तै छ ।” यति सुन्दा हर्षले हल्का हुन्थे सन्ते । हुन त उनलाई रमाले कुनै दिन घर बोलाउलान् कि भन्ने आशा नलागेको कहाँ हो र । अस्ति भर्खरै हो, सन्ते र रमाको बाटैमा जम्काभेट भएको । रमा सन्तेलाई देख्दा झन्डै मुस्कुराएकी थिइन् । सन्तेलाई पनि मुस्काउन मन नलागेको होइन । मनमा माया भए पनि उनले आँखा फुकालेर हेरे । पछि निकै पछुतो लागेको थियो, “मैले त्यसरी हेर्न नहुने, बोलाएको भए डिभोर्स दिन्नथी कि ।”  स्याङतान काकाले बोलाए, “ओइ सन्ते, निद्रा पुगेन ? आइज खाजा खाऊँ ।” जुरुक्क उठे सन्ते । “के खाजा काका ?” सन्तेले सोधे । “हाम्रोमा खाजा के हुनु र भाती जाँड त हो नि, मिठो छ आइज ।” सन्तेले नखाने भने तर काकाले ढिपि गर्न छाडेनन् । “दिनु न त एक डबका,” उनले स्विकारे । एक डबका जाँड स्वाट्टै पारेर बाटो लागे । 

चारतले घरको अघिल्तिरको टायल बुट्टामा रङ फिनिसिङ गर्नु थियो । सन्ते पुग्दा उसका सहयोगी आइसकेका रहेछन् । बाँसको खट सार्नु थियो अगाडि । “दह्रो गरी बाँध है केटा,” सन्तेले अराए । जब रङ घोलेर बट्टा लिँदै खटमा चढे सन्ते, खुट्टा काँप्न थाल्यो । हिजोको दुई गिलास ठर्रा र आज एक डबका जाँड । शरीरमा तागत थिएन । तैपनि काम गर्ने हिम्मतले उनी चौथो तला पुगे । हातले पनि उस्तो भर दिएन । एउटा खुट्टा खटबाट चिप्लियो । दायाँ हातमा रङको बट्टा थियो । बायाँ हातले बाँस समाते तर भर पाएनन् । बाँया हात पनि चिप्लियो । सन्ते चार तलामुनि बजारिए ।

घर साहु आपत्मा परे । हतार हतार उठाएर अस्पताल पुर्‍याए । डाक्टरले मुन्टो हल्लाए । सन्तेका आफन्तको खोजी भयो । “यो मान्छेका स्वास्नी छोराछोरी कहाँ छन् ?” प्रश्न सुनियो । भिडबाटै कसैले जवाफ दियो, “यसको त स्वास्नीसँग हिजो मात्र पारपाचुके भएको हो नि ।”