‘कुनै बेला काठमाडौँ उपत्यकामा हिउँदका मङ्सिर, पुस र माघ महिना अत्यन्तै चिसा हुन्थे । उपत्यका खाल्डोमा घाम लाग्न बिहानको खानपिन सकेर दिउँसो कुर्नुपथ्र्यो । बिहानी कक्षा सञ्चालन हुने विद्यालय र क्याम्पसमा पठनपाठनका लागि जाँदा बाटोमा सेतै परेको तुसारोमा चिप्लिएर लड्नु सामान्य हुन्थ्यो । बाहिर भाँडाकुँडामा राखेको पानीको माथिल्लो भाग जमेको हुन्थ्यो । बिहान र बेलुका पानी छुँदा हातै कटक्कै खाने र औँलाका नङ झर्लान् जस्तो हुन्थ्यो । उपत्यकाबाहिरबाट आएकाका लागि काठमाडौँको चिसो कुनै भयङ्कर सजायभन्दा कम हुन्थेन । अत्यधिक चिसोका कारण दसैँतिहारपछि उपत्यकामा कहिले फागुन–चैत लाग्ला र न्यानो मौसम आउला भनेर दिन गन्नुपर्ने अवस्था थियो ।
यो व्याख्यात्मक परिदृश्य काठमाडौँ उपत्यकाको सयौँ वर्षअघिको किंवदन्तीबाट लिइएको होइन । २० वर्षअघिसम्म काठमाडौँ उपत्यकामा हिउँदअघि माथि उल्लेख गरिएकै अवस्था थियो । अति कष्टकर चिसो त छँदै थियो नै, पुस र माघ महिनामा हिउँदे वर्षा हुन्थ्यो । वर्षासँगै उपत्यकाको तापक्रम माइनसतर्फ ओरालो लाग्थ्यो । ठिहि¥याउने चिसोले मानिसहरू घरभित्रै खुम्चिँदै गर्दा चन्द्रागिरि, नगरकोट जस्ता उपत्यका आसपासका अग्ला भेगमा हिउँ पर्ने गथ्र्यो तर २० वर्षअघिको त्यो परिदृश्य अहिले एकादेशको कथा जस्तै भएको छ । गरगहनाको पुस्तैनी व्यापार समाल्नुभएका काठमाडौँ महानगरपालिका–१८, नरदेवीका एक युवा व्यापारी भन्नुहुन्छ, “उतिबेला पुस, माघमा धाराबाट पानी झर्दाझर्दै जम्थ्यो भन्दा ‘ह्या.. गफ नदिनुन, त्यस्तो नि कहीँ हुन्छ ? भए अहिले खोइ त किन नभएको ?’ भनेर मेरै कान्छो छोरोले जवाफ फर्काउँछ ।”
यसरी पत्यारै नलाग्ने गरी पछिल्लो २० वर्षयता उपत्यकाको मौसमी अवस्थामा आएको परिवर्तन सामान्य पक्कै होइन । पछिल्ला वर्षमा उपत्यकामा अत्यधिक बढेको जनसङ्ख्यासँगै निर्माण भएका संरचनाले यहाँको वनजङ्गल र हरियाली सखाप पार्यो । मानिस र सवारीसाधनको अत्यधिक भिडभाडको परिणाम वायु प्रदुषण, जल प्रदुषण, फोहोरमैला, विषाक्त ग्यासलगायतले उपत्यका खाल्डो वर्षैपिच्छे तात्दै गयो । मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अचेल काठमाडौँ उपत्यकामा बर्सेनि चिसो कम हुँदै गएको स्पष्ट छ । पछिल्ला वर्षमा तापक्रम माइनसमा जान छोडेको छ । विश्वमा सन् २०२४ सबैभन्दा तातो वर्ष भएको र त्यसको प्रभावले धेरै प्रत्यक्ष अप्रत्यक्ष क्षति पुगेका समाचार बर्सैभरि चर्चामा रहे । उक्त सन्दर्भ र जलवायु परिवर्तनको बढ्दो विश्वव्यापी प्रभावबाट नेपाल पनि अछुतो छैन ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँमा यो हिउँदमा सबैभन्दा कम तापक्रम दुई डिग्री सेल्सियस मङ्सिर २९ गते मापन गरिएको छ । काठमाडौँमा पोहोरको हिउँदभन्दा यो हिउँद तातो हिउँद बन्न पुगेको छ । काठमाडौँमा यस वर्षको हिउँदमा अहिलेसम्म कात्तिकमा एक दिन सामान्य र मङ्सिरमा एक दिन छिटपुट गरी दुई दिन मात्रै वर्षा भएको तथ्याङ्क छ । काठमाडौँमा पहिले पहिले सबैभन्दा बढी चिसो माघ महिनामा हुन्थ्यो तर यस वर्ष माघ महिनाको दोस्रो हप्ता सुरु हुँदा/नहुँदै तापमान बढेर साबिकको फागुन महिनाको जस्तै न्यानो र गर्मी महसुस हुन थालिसकेको छ । उपत्यका मात्रै नभएर देशभर नै अधिकतम र न्यूनतम दुवै तापक्रम दिनदिनै बढ्दै गइरहेका छन् ।
हिउँदमा अचाक्ली चिसो हुने ठाउँ भनेर चिनिएको काठमाडौँ उपत्यकाको यो उदाहरण एउटा प्रतिनिधि मात्रै हो । माघको दोस्रो सातासँगै देशको सङ्घीय राजधानी काठमाडौँ भित्रिएका मानिसले ‘...काठमाडौँमा त झन् दिनदिनै घाम लाग्ने रैछ, माघको चिसोको कत्रो डर थियो, काठमाडौँमा त गर्मी पो लाग्न थाले छ’ भनेर पहिलेको जाडोसँग तुलना गर्दै काठमाडौँमा जाडो माघ पहिलो हप्तै हराइसक्नुको खुसियाली मनाइरहेका छन् । मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा मात्रै नभएर समग्र नेपालभरि नै पछिल्ला दशकका हिउँदभन्दा अहिलेका हिउँद बर्सेनि ताता र सुक्खा हुँदै गइरहेका छन् । जुन यस वर्षको हिउँदले झन् प्रस्ट रूपमै छर्लङ्ङ पारिरहेको छ ।
यो हिउँदमा सुदूरपश्चिममा केही वर्षा भएका भेगबाहेक देशैभरि हिउँदे वर्षा कतै भएकै छैन त कतै निकै कम मात्रै भएको छ । मौसमविद्का अनुसार यस वर्ष हिउँदमा नेपाल भित्रिएका पानी पार्ने सबै प्रणाली कमजोर थिए जसका कारण पहिलेका हिउँदमा जस्तो काठमाडौँलगायत देशैभर पानी पर्न सकेन । हिउँदमा भूमध्यसागरसम्मबाट नेपाल भित्रिएर पानी पर्ने प्रणाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशभन्दा पूर्व जान नपाउँदै कमजोर भएर रित्तिए । जताबाट आए पनि जुनसुकै मौसमी प्रणाली काठमाडौँ उपत्यकासम्म पुग्न उक्त प्रणाली बलियो हुनु पर्छ तर यस वर्ष त्यस्ता मौसमी प्रणाली कम आएको र आएका पनि निकै कमजोर आएको मौसमका जानकार वरुण पौडेल बताउनुहुन्छ । उहाँका अनुसार पश्चिमी वायुलगायतका मौसमी प्रणाली नेपाल भित्रिँदा हिमाली भेगमा हिमपात हुन्थ्यो भने पहाडी र तराई भेगमा वर्षा हुन्थ्यो । जसका कारण जमिन चिसिन्थ्यो, चिसो हावा बग्थ्यो र पूरै वातावरण कठ्याङ्ग्रिने हुन्थ्यो तर यस वर्ष त्यो सबै परिचक्रमा कमी आयो फलस्वरूप उपत्यकालगायत देशैभरको तापक्रम औसतभन्दा बढेर गयो र हरियो छिट्टै सुक्दै जाँदा रुक्खा सुक्खापन हाबी भयो ।
जलवायु परिवर्तनको विश्वव्यापी बढ्दो प्रभावले पनि नेपालमा बर्सेनि हिउँदमा चिसो घट्ने र गर्मी फैलँदै गइरहेको मौसमका जानकार बताउँछन् । विश्वभर बर्सेनि चिसा दिन घट्ने, ताता र औसतभन्दा तातो दिन बढ्ने भइरहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनले प्रमाणित गरिसकेको छ । दुई हप्ताअघि विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्युएमओ) ले विज्ञप्ति जारी गरेरै विभिन्न छ अन्तर्राष्ट्रिय तथ्याङ्कका आधारमा सन् २०२४ अहिलेसम्मको सबैभन्दा तातो वर्ष भएको प्रमाणित गरेको छ । जस अनुसार सन् २०१५ देखि २०२४ सम्मका १० वर्ष इतिहासमै सबैभन्दा ताता १० वर्ष हुन् । यसै बिचमा पृथ्वीको औसत तापमान १.५ डिग्री सेल्सियसभन्दा बढी भएको देखियो । त्यस्तै सन् २०२४ मा पृथ्वीको सतह, समुद्री सतह र समग्र समुद्रको तापमानमा अस्वाभाविक वृद्धि भयो । यो सबैको असर नेपालको मौसम र समग्र पारिस्थितिक प्रणालीमा शतप्रतिशत नै परेको छ भनेर ठोकुवा गर्ने वैज्ञानिक आधार नभए पनि जलवायु परिवर्तनको असर नेपालमा धेरथोर परेको तथ्य भने पछिल्ला वर्षमा आएका अस्वाभाविक मौसमी परिवर्तनले देखाइरहेका छन् ।
मौसमविद्ले हिउँदमा वर्षा र चिसो दुवै कम भएर सुक्खायामले जमिन र पातपतिङ्गर जर्जर बनाउँदा यस वर्ष डढेलोको जोखिम झन् बढेर जान सक्ने खतरा औँल्याएका छन् । वन तथा भूसंरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको डढेलो तथ्याङ्क (मोडिस) अनुसार पछिल्लो ६० दिनमा नेपाल भर १५८ भन्दा बढी ठाउँमा डढेलो लागिसकेको छ । चर्चामा आउने गरी धेरै ठुलो डढेलोको समाचार नआए पनि मध्य हिउँद मानिने माघ महिना आधा नहुँदै देशभर डढेलो फैलिन सुरु हुनु आगामी सुक्खायामका लागि चेतावनी पक्कै हो । नेपालमा हिउँदबाट सुरु हुने डढेलोको मुख्य सिजन वैशाखलाई मान्दा काठमाडौँलगायत देशैभर माघमै डढेलोलाई अनुकूल वातावरण तयार भइसक्नु डढेलोलाई ‘छिटो आइज’ भनेर मौसमले बाटो दिएको भनेर अथ्र्याउँदा अत्युक्ति पक्कै नहोला । वनजङ्गलमा लाग्ने डढेलोले करोडौँ रुपियाँबराबरको क्षति पुर्याउँछ, लाखौँ हेक्टर वनजङ्गल खरानी बनाउँछ र दर्जनौँ गाउँबस्ती सखाप पार्छ । नेपाल सरकारको वन तथा वातावरण विभाग र दक्षिण एसियाली डढेलो सञ्जालका अनुसार जाडोयामसँगै सुरु हुने डढेलोका घटनाबाट चैत–वैशाखसम्म आइपुग्दा दैनिक सयौँ ठाउँमा सल्किएर वा फैलिएर सम्बन्धित क्षेत्रको वन विनाशसँगै वायु प्रदूषण बढाउँदै एयरपोर्टको भिजिबिलिटी कम गरेर उडानसम्म प्रभावित हुने गर्छ ।
सुक्खायाममा यसै पनि जताततै जङ्गल पानी नपर्दासम्म दिन प्रतिदिन प्रज्वलनशील पदार्थ जस्तै बन्दै गइरहेको हुन्छ । त्यसमाथि स्थानीयस्तरमा जङ्गलमा डढेलो लगाए नयाँ मुना राम्ररी पलाउँछ भन्ने मनोविज्ञान व्याप्त छ । त्यसैले नयाँ पालुवा पलाउने विश्वासमा जानेबुझेका मानिसले जानीजानी आगो लगाउँछन् । सुक्खायाममा सुकेको पातपतिङ्गरमा तेज हावासँगै आगो ह्वारह्वार्ती वनभरि फैलिन्छ । डढेलोका जानकार सुन्दर शर्माका अनुसार नयाँ घाँसको मुना पलाओस् भनेर आगो लगाउने र लापर्बाही जस्ता नियतवशका मानवीय कारणबाट नेपालमा ६४ प्रतिशत डढेलोका घटना हुन्छन् । त्यस्तै ३२ प्रतिशत आकस्मिक वा लापर्बाहीले र चार प्रतिशत अज्ञात कारणले लगाइने गरेको पाइन्छ । तथ्याङ्क, मौसम र डढेलोका जानकारसँगै विश्व मौसम विज्ञान सङ्गठनले समेत विश्वभर तापमान बढेर गएको प्रमाणित गरेर पृथ्वीकै पारिस्थितिक प्रणाली सङ्कटमा पर्ने खतरा औँल्याइसकेको अवस्थामा नेपाल पनि यस्ता परिवर्तनको सामनाका लागि सबल बन्नु पर्छ ।
देशभर सानो या ठुलो परिमाणमा सुरु भइसकेको डढेलोका घटनाले भोलि भयावह रूप लिन नदिन अहिलेबाटै डढेलो नियन्त्रण र त्यसको पूर्वतयारीमा ध्यान दिनु पर्छ । हिउँदमा पानी नपर्नु र छिट्टै गर्मी सुरु हुनु भनेको फागुन–चैतमा सुक्ने हरिया रुख र पातपतिङ्गर पुस–माघमै सुक्नु हो । यसको मतलब डढेलोका लागि इन्धन (सुकेका पातपतिङ्गर) तयार छ, मात्रै आगो सल्काउन बाँकी छ भन्ने चेतावनी पनि हो । यसको छनक हालै धेरै दिनपछि नियन्त्रणमा आएको काभ्रेपलाञ्चोकको डढेलोले दिइसकेको छ । केही हप्तादेखि अमेरिकाको लस एन्जलसमा लागिरहेको डढेलोको भिडियो धेरै नेपालीले डिजिटल उपकरणमा हेरिरहेका छन् । लस एन्जलसको डढेलो त डिजिटल उपकरणसम्म मात्रै आइपुग्छ तर बेलैमा नेपाल सरकार, सर्वसाधारण र सम्बन्धित सरोकारवाला सङ्घसंस्थाले नेपालका वनजङ्गलमा डढेलो लाग्नै नदिन वा लागेपछि तत्काल निभाउन बेलैमा पूर्वतयारी नगरे यहाँको डढेलो भने यो सुक्खायाममै तपाईं हाम्रो घर, टोल, गाउँ र सहर नआइपुग्ला भन्न सकिन्न । सबैको यसतर्फ ध्यान जाओस् ।